काठमाडाैं । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको निर्मम हत्यामा अनुसन्धान प्रक्रिया नै शंकाको घेरामा पार्न थालिएको छ ।
अहिले त्यहाँ सुक्ष्म छानवीन भइरहेको छ तर, अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुग्न नदिएर पहिले कै अनुसन्धानलाई मान्यता दिलाउन पूर्व माआेवादीका नेताहरु लागि परेको स्रोतको दावी छ ।
प्रहरी हिरासतमा रहेका बम दिदीबहिनीलाई निर्मलासँगको चिनाजान र सम्बन्ध, साउन १० गतेको बसाई, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारण, उनीहरुले निर्मला पोइल गएकी होली, लाश पनि त्यत्तै होला भनी दिएको अभिव्यक्तिबारे पनि सोधपुछ भएको बताइएको छ ।
स्रोतका अनुसार कञ्चनपुर प्रहरीले यसअघिकै अनुसन्धानलाई सदर गर्ने तयारी गरेको छ । यद्यपी गृहले गठन गरेको समितिले सरकारलाई बुझाउने प्रतिवेदनमा के आउँछ भन्ने चासोको विषय बनेको स्थानीय बताउँछन् । टोलीले स्थानीयसँगको भेटघाट, घटनास्थलको अनुगमन, पीडितका आफन्त लगायतसँग भेट गरेको छ ।
निलम्बित एसपी विष्टलाई बचाउन पूर्व माओवादी नेता सक्रिय
कञ्चनपुर घटनाको सत्यतथ्य बाहिर नआएसम्मका लागि निलम्बनमा परेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई बचाउन पूर्वमाओवादी नेता सक्रिय भएका छन् । पूर्वमाओवादी नेतासँगै केही बहालवाला डीआईजी पनि विष्टमाथि लागेको निलम्बन फुकुवा गर्न विभिन्न दलका नेताहरुसँग लविङ गरिरहेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार एसपी विष्ट प्रदेश ७ का पूर्वमाओवादी नेताहरुको दैलोमा पुगेका छन् । तत्कालीन माओवादी नेताकै रोजाइमा कञ्चनपुर गएका विष्टलाई बचाउन जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म लागेका छन् । स्रोतले भन्यो, ‘‘एसपी विष्ट काठमाडौंमै रहेका केही पूर्वमाओवादी नेताहरुको घरमा पुगेका छन् ।”
तर, गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले आईजीपी सर्वेन्द्र खनाललाई बलात्कारका घटना न्यूनिकरण गर्ने योजनासहित कञ्चनपुर घटनाका दोषीलाई कुनैपनि हालतमा पत्ता लगाएर कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । गृहमन्त्रालयमै बोलाएर बिहीबार गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।







