काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वडा सदस्यको घर कब्जा गरेको छ ।

रोल्पाको माडीगाउँपालिका-१ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीको घरजग्गा बिहीबार दिउँसो विप्लव कार्यकर्ताले कब्जा गरेका हुन् ।

माडीगाउँपालिका स्तरीय नेकपाको ‘जनसत्ता’ र स्थानीय गाउँलेले घरजग्गा कब्जा गरेको नेकपाका नेता एवं माडीगाउँपालिकाका जनसत्ता प्रमुख सूर्य खड्काले जानकारी दिए ।

वडा सदस्य घर्तीले पेदीखोला गाउँको आसपासका विभिन्न योजनामा आर्थिक हिनामिना गरेको आरोप उनीहरुको छ। आर्थिक पारदर्शिता नगरेसम्म घरजग्गा कब्जा हुने नेता खड्काको भनाइ छ ।

घरजग्गा कब्जा गर्नुअघि घर्तीसँग नेकपाका कार्यकर्ताले वडा सदस्य पदबाट राजीनामा दिनुपर्ने, गाउँकै विद्यालयलाई ७५ हजार दिनुपर्ने र सबै योजनाको खर्च सार्वजनिक गर्नुपर्ने शर्त राखेका थिए ।

राजीनामा दिएर गाउँपालिका पुगेका सदस्य घर्तीले गाउँ फर्किएर योजनाका खर्चमा पारदर्शिता गर्न नचाहेको र छलफलसमेत गर्न अटेरी गरेको भन्दै नेकपाको कार्यकर्ताले भदौ १४ गते दिउँसो झण्डा गाड्दै घरजग्गा कब्जा गरेका हुन् ।

विभिन्न योजनाको ४ लाख २४ हजारको हिसाबकिताब दुरुस्त देखाउन नसकेको नेकपाको आरोप छ। पेदीखोलामा निर्माण गरेको लालीगुराँस कृषक समूहको बिउ भण्डारण भवन निर्माण, भवन मर्मत, पानीपोखरी निर्माण, सिम्रीखोला कुलो मर्मत, बाख्राको खोर निर्माण, वन सफाई, ठाडोखोला खानेपानी योजना, सुन्तला पकेट क्षेत्र निर्माण लगायतका योजना खर्च पारदर्र्शी नभएको नेकपाका कार्यकर्ताको दाबी छ ।

विभिन्न योजनाका लागि गाउँमा आएको १८ लाख ४३ हजार ५ सयको खर्च विवरण पारदर्शिता गर्नसके मात्र घरजग्गा कब्जामुक्त गरिने नेकपा नेताको भनाइ छ ।

खर्च विवरण दुरुस्त देखाउनुको साटो उल्टो प्रहरीमा जाहेरी दिएको भन्दै नेकपाका कार्यकर्ताले भने कडा आपत्ति जनाएका छन्। भ्रष्टमाथि कारवाही गर्ने पार्टीको घोषित नीति नै भएको नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’को भनाइ छ। जनता र जनसत्ताले सदस्यको राजीनामा र घरजग्गा कब्जा गरेको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार