महेन्द्रनगर । निर्मला पन्तको हत्यामा प्रहरीकै मिलेमतो छ भनेर आम नागरिकले आरोप लागइरहेका बेला त्यसलाई थप पुष्टि पार्ने भिडियो सार्वजनिक भएको छ । निर्मलाको शव भेटिए लगत्तै उनको शरीर र घटनास्थलबाट प्रमाण मेटाउने कार्य प्रहरी आफैले गरिरहेको भिडियो सार्वजनिक भएको हो ।

युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा गत साउन ११ गते प्रहरीले शव भेटिएको स्थलमा पुग्नेवित्तिकै प्रमाण नष्ट गर्ने काम सुरु भएको प्रमाणित भएको छ । पत्रकार पुष्कर भट्टले खिचेको भिडियोमा प्रहरीले शव पाइएको स्थलमा पुगेपछि निर्मलाको मृत शरीरलाई पखालिएको देखिन्छ । हातमा सेता पञ्जा लगाएकी एक महिलाले डिएसपी ज्ञानबहादुर सेटीकै अगाडि निर्मलाको शवबाट ट्राउजर झिकेकी छन् । र उनले त्यो ट्राउजर धोएर निर्मलाको गुप्तांग छोपेकी छन् ।

घटनास्थलमै प्रहरीको यस्तो व्यवहार आश्चर्यजनक हो । प्रहरीकै सामुन्ने निर्मलाको गुप्तांग पखाल्नु, उनको एक खुट्टामा अल्झेको ट्राउजर खोलेर धुनु अनुसन्धानको दृष्टिले हत्याको प्रमाण मेटाउनु बाहेक अरु कुनै विषय होइन । भीमदत्त नगरपालिका १८ निम्बुखेडाको उखुबारीमा निर्मलाको शव भेटिएपछि सादा पोशाकका प्रहरीले शवको शरीरबाट संकलन गर्न सकिने प्रमाण नष्ट गरिरहेको देखिएको छ ।

डिएसपी सेटी त्यो भिडियिो फुटेजमा प्रष्ट देखिएका छन् । उनीसँगै अनुहार प्रष्ट देखिने एक जना इन्स्पेक्टर र एकजा सई बर्दीमैं पनि छन् । एकजना इन्स्पेक्टर भने सादा पोशाकमा छन् । सादा पोशाककी ती महिला प्रहरीले फोहर लुगा धोएझैं निर्मलाको शरीरबाट निकालेको ट्राउजर धुँदा पनि सेठी र त्यहाँ उपस्थित अरु प्रहरी अधिकृतले कुनै प्रतिक्रिया दिएका दिएका छैनन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको परिवारका सदस्यले भनिरहेका बेला प्रहरीको यस्तो व्यवहारले पीडितलाई झन पीडा थपिदिएको छ । प्रहरी आफैले शवको कपडा झिकेर धुनुलाई सामान्य मान्न सकिंदैन । यो फुटेज हेर्दा निर्मलाको शरीरमा भएको प्रमाण मेटाउन खोजिएको प्रष्टै देखिन्छ ।
rmkhabar बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार