प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन्।

देशमा यस्तो हत्या हिंसाका घटना दिनानुदिन बढेको र त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रीले भुमिका नखेलेको तथा आइजिपीले प्रहरीबाट निष्पक्ष छानविन नहुँदा समेत सुधारका लागि कुनै पहल नगरेको भन्दै प्रधानमन्त्री असन्तुष्ट बनेका हुन्।

उनले यस्तै रवैया रहे गृहमन्त्री र आइजिपी फेर्ने बारे समेत सोचिरहेका छन्। खासगरी कञ्चनपुरको निर्मला पन्त हतया काण्ड र प्रहरीको फेक अनुसन्धान, प्रहरीको गोली लागी निदोर्ष बालकको मृत्यु लगायत देशभर बढिरहेका हत्या हिंसाका घटनाले सरकारको चर्को आलोचना भएपछि ओली वैकल्पिक कदम चाल्ने तयारीमा रहेको बालुवाटार निकट स्रोतले बतायो।

प्रहरी महानिरीक्षक खनालसँग प्रधानमन्त्री ओलीको असन्तुष्टि भर्खरै पोखिएको छ। यसको पछिल्लो उदाहरण हो, प्रधानमन्त्री ओलीले आईजीपी खनालको अमेरिका भ्रमणलाई क्याबिनेटबाट अस्वीकृत गर्नु।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभागका प्रमुखसमेत तीनै सुरक्षा प्रमुखहरुले अमेरिकामा एउटा कार्यक्रममा सहभागी हुन गृहमार्फत क्याबिनेटमा प्रस्ताव पुर्‍याएका थिए । तर, मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री रिसाएपछि त्यो भ्रमण स्वीकृत भएन ।

‘देशमा यस्तो हत्या हिंसाका घटना भइरहेका बेला सुरक्षा प्रमुखहरु किन लर्को लागेर अमेरिका जानुपर्‍यो रु जानैपर्ने भए डीआइजीलाई पठाउँदा हुँदैन रु’ पाँच दिनअघि शनिबार बसेको क्याबिनेट बैठकमा प्रधानमन्त्री ओलीले कड्किँदै भने, ‘यो भ्रमण स्वीकृत हुँदैन।’

अहिले देशैभरि प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको र हत्या हिंसाका घटनाको अनुसन्धानमा प्रहरी चुकेको गुनासा आइरहेका छन् । यो अवस्थामा रिक्त रहेका एआईजीहरुको तत्काल नियुक्त गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले बारम्बार जोड दिँदै आएका छन् । तर, एआईजी नियुक्तिको सिफारिसमा प्रहरी महानिरीक्षक खनालले तदरुकता नदेखाएको प्रधानमन्त्रीनिकट स्रोतको बुझाइ छ ।

बालुवाटारनिकट उच्च स्रोतले भन्यो– ‘प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापा बादललाई दुईपटक सोधिसक्नुभयो, एआईजी नियुक्तिको सिफारिस अहिलेसम्म किन नल्याएको रु अहिलेसम्म आईजीपी के गरेर बसिरहेका छन् रु’

एआईजी नियुक्तिको सिफारिसमा भएको ढिलाइमा मात्रै होइन, भक्तपुरको फेक इन्काउन्टर प्रकरणमा पनि प्रहरीको भूमिकाप्रति प्रधानमन्त्री ओली असन्तुष्ट रहेको स्रोत बताउँछ । प्रहरी नेतृत्व र गृह मन्त्रालयको काम गराइ यस्तै पाराको रही रहेमा विकल्पसमेत सोच्नुपर्ने अवस्था आउने संकेत प्रधानमन्त्री ओलीले दिन थालेका छन् ।

जस्तो– सोमबार बालुवाटारमा सम्पादकहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले प्रहरीमाथि भर पर्दा कञ्चनपुरमा अहिलेको परिस्थिति आएको बताए । उनले अब आफू कडारुपमा प्रस्तुत हुने र केही कदम चाल्नुपर्ने हुन सक्ने पनि बताए ।

प्रधानमन्त्रीले सोमबार सम्पादकहरुसँग भने, ‘कञ्चनपुर केसमा म पनि भर परें, तपाईहरु पनि त भर पर्नु भो नि । त्यो घटना भएपछि पहिले त पुलिसमाथि भर पर्नुपर्‍यो, छानविन गर्छ कि भनेर । सबै ठाउँमा हामी पुलिसमाथि नै भर पर्छौं नि ।’

प्रधानमन्त्रीले थपे– ‘अदालतले न्याय दिन्छ भन्ने हामी विश्वास गर्छौं । पुलिसले शान्ति सुरक्षा गर्छ भन्ने विश्वास गर्छौं । त्यही हो नि गर्ने त । ज–जसको जे–जे काम हो, त्यसमाथि विश्वास गर्न थालिन्छ ।’

तर, अब आफू कडारुपमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताएका छन् । उनी भन्छन्– ‘योग्य मान्छेलाई योग्य ठाउँ दिनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत गर्ने, राम्रो काम गर्दैन भने हटाउनुपर्छ । देशलाई काम चाहिएको छ । एउटा मान्छेको पेसाको ग्यारेन्टीले देशको विकासमा बाधा पार्ने कुरा मान्य हुँदैन ।’

तर, यसो भनिरहँदा प्रधानमन्त्रीले यो पनि भने– ‘म अनुहार हेर्दिनँ, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामीप्यतावाद केजातिवाद‘। अहिलेको समस्या के हो भने राजनीतिकरण ।’

असन्तुष्टिको अर्को पाटो

त्यसो त प्रधानमन्त्री ओली आईजीपी खनालप्रति असस्तुष्ट हुनुको अर्को भित्री पाटो पनि छ । सूत्रहरुका अनुसार प्रधानमन्त्री ओली सुरुमा सर्वेन्द्र खनाललाई आईजीपी बनाउने पक्षमा थिएनन् । यही कारण क्याबिनेटले प्रस्ताव आएको पहिलो बैठकमै खनाललाई आईजीपी बनाएन र अर्को बैठकमा मात्रै उनलाई आईजीपी बनाउन प्रधानमन्त्री सहमत भए ।

नेकपाका केही नेताहरुको भनाइलाई पत्याउने हो भने सर्वेन्द्र खनाल तत्कालीन माओवादी केन्द्रको चाहनाअनुसार आईजीपी बनेका हुन् । प्रधानमन्त्री ओलीचाहिँ तत्कालीन डीआर्इजी रमेश खरेललाई प्रहरीको नेतृत्व सुम्पिन चाहन्थे । उता, राष्ट्रपति विद्यादेवी भण्डारीको ईच्छा आफूसित पारिवारिक नाता जोडिएका पुष्कर कार्कीलाई आईजीपी बनाउने थियो ।

तर, आईजीपीको दौडमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दरिलो साथ पाएपछि सर्वेन्द्र खनालले बाजी मारेको स्रोतको भनाइ छ । र, यसैको प्रतिफलस्वरुप गृहमन्त्री थापा र आईजीपी खनालवीच अहिले काममा सहजता मिलिरहेको छ । तर, प्रधानमन्त्री ओली भने गृहमन्त्री थापा र आईजीपी खनाल दुबैले शान्ति सुरक्षाको मामिलामा प्रभावकारी काम गर्न नसकेको निष्कर्षमा पुग्न थालेका छन् । त्यसैकारण दुबैको विकल्पबारे पनि उनी योजना बनाइरहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार