सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएर विश्वभरि शान्ति र ज्ञानको प्रचार गरेको पुष्टि भइसक्दा समेत भारतले पटक–पटक विवादास्पद प्रचार गर्ने गरेको छ । जसले गर्दा नेपाली आक्रोशित हुने गरेका छन् ।
तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओली भएकै कार्यक्रममा घुमाउरो पाराले बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका छन् ।
काठमाडौंको गौशालामा भारतीय सहयोगमा निर्मित धर्मशाला उद्घाटन कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विश्वलाई गौतम दिएको र भारतले बुद्ध दिएको बताएका छन् ।
मोदीले नेपालको लुम्बिनीले विश्वलाई गौतम दिएको र भारतको बोधगयाले बुद्ध दिएको दावी गरे । उनको अभिव्यक्तिमा ज्ञान प्राप्त गरेको बुद्ध भारतमा जन्मिएको संकेत झल्किन्थ्यो ।
‘नेपालको लुम्बिनीले विश्वलाई गौतम दिएको छ, भारतको बोधगयाले बुद्ध,’ मोदीले भने, ‘गौतम बुद्धले देखाएको बाटो विश्वले सामना गरिरहेका अतिवाद तथा आतंकवादजस्ता तमाम समस्या समाधान गर्ने कुराको प्रेरणा स्रोत हो ।’
कार्यक्रममा ओलीसँग मिलेर पशुपति धर्मशाला शिवभक्तलाई समर्पित गर्न पाउँदा आफूलाई निकै खुशी लागेको मोदीले बताए । सवा अर्ब भारतवासीको तर्फबाट पशुपतिलाई सानो भेटी दिन पाएकोमा आफू खुसी रहेको उनको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ नेपालको साथमा रहेको बताएका छन् । नेपाल र भारतको सम्बन्ध शदियौंदेखि चलिआएको यसलाई थप मजबुत बनाउनुपर्नेमा मोदीको जोड थियो ।
काठमाडौंमा शुक्रवार नेपाल–भारत मैत्री पशुपति धर्मशाला उद्घाटन गर्दै मोदीले नेपाल र भारतबीचको सम्बन्ध काठमाडौं र दिल्लीबीच मात्र नभई जनता–जनातबीच भएको बताए ।
उनले दूरीका हिसाबमा नेपाल र भारतका कतिपय स्थान टाढा भएपनि सम्बन्ध भने हजारौं वर्षदेखि नजिक रहेको बताएका हुन् । ‘काठमाडौं र कन्याकुमारीबीच लामो दूरी छ, तर केही वर्षदेखि तामिलनाडुमा पशुपतिको चर्चा हुनेगरेको छ,’ मोदीले भने, ‘नेपालले सीता दिँदा भारतले राम दिएको छ ।’







