प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ भाैतिक रूपमा सिध्याउन खाेज्ने शासकहरूलार्इ त्यस्ताे दिवासपना नदेख्न चेतावनी दिएका छन् ।

सरकारको झुठा अभियोगमा नुवाकोटको विदुरस्थित जिल्ला प्रहरीको हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले क्रान्तिकारी पत्रकार संगठनका प्रतिनिधिहरूसँगमा भेटमा आफूमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको र झुठा अभियोग लगाएर दुःख दिने काम गरे बताए ।

जतिसुकै अभियोग लगाएपनि आफू त्यसको प्रतिवाद गर्न तयार रहेको भन्दै उनले नेकपा र तिनका नेताहरुबारे सरकारले छर्ने भ्रमबाट मुक्त भएर सत्यतथ्य समाचार बाहिर ल्याउन समेत आग्रह गरे ।

जनयुद्धमा उठाइएका मागहरुलाई लत्याएर संसदीय फोहोरी खेलमा डुब्न पुगेका जनयुद्धका तत्कालीन नेतृत्व प्रचण्ड र तिनका आसेपासेहरु सत्तामा बसेर क्रान्तिकारीहरुमाथि दमन र हस्तक्षेप गरेर प्रतिक्रान्तिको लादेकाे बताए ।

प्रकाण्डले अहिलेको बुर्जुवा गणतन्त्र ल्याउन केपी ओलीहरुको कुनै भूमिका नभएको र गणतन्त्रको नारा लगाउँदै हिँड्ने तत्कालीन नेकपा (माओवादी)विरुद्ध सुराकी गरेर हत्या र जेलमा सडाउने षडयन्त्रमा रहेको बताए । साथै बुर्जुवा गणतन्त्र जनयुद्ध बेलाको उद्देश्य नभएको र अहिले पनि आफूहरुले लक्ष्य त्यो नभई वैज्ञानिक समाजवादी व्यवस्था भएको स्पष्ट पारे ।

सरकारमा बसेर नेकपाका केही नेतालाई भौतिक रुपमै सिध्याएर शासन टिकाउँछु भनेर नसोच्न समेत सरकारलाई चेतावनी दिए ।

‘जनयुद्धले सामन्ती राजतन्त्र ढाल्यो । केपीहरु त्यही राजतन्त्रको कालकोठरीमा थिए । आज प्रचण्ड–बादलहरु जनयुद्धको उद्देश्य र लक्ष्यमाथि गद्दारी गरेर संसदमा छिरेपछि केपीहरु हौसिएका छन्’ प्रकाण्डले भन्नुभयो, ‘जनतामाझ् बद्नाम र नाङिगइसकेको यो सरकार छिट्टै टाट उल्टिँदैछ ।’

प्रतिक्रान्तिलाई पराजित गर्नकै निम्ति क्रान्ति झनै अनिवार्य बन्दै गएको र जनता यसैमा गोलबन्द हुन समेत उहाँले सबैसँग अपिल गरे ।केपी–प्रचण्ड सरकारले मानवअधिकार र न्यायायिक स्वतन्त्रको धज्जी उडाउँदै आफैंले बनाएको नियम कानून कुल्चँदै फासीवादी बन्न पुगेको उनको भनाई छ ।

तत्कालीन जनयुद्धका सहकर्मीबाटै नेकपा यसका नेताहरुमाथि दमन र हस्तक्षेपबारे राखिएको पत्रकारको जिज्ञासामा प्रवक्ता प्रकाण्डले ‘जनयुद्धका सहकर्मीहरू निजी लाभ र स्वार्थमा फसेका प्रचण्ड–बादलहरुलगायत केही मान्छेहरुबाट अहिले जनतालाई पूर्णअधिकार सम्पन्न तुल्याउन र अलपत्रमा पारिएका क्रान्ति पूरा गर्न क्रान्तिको झण्डा उठाइरहेका हामीमाथि दमन र झुठा मुद्दा थोपर्ने श्रृंखला मच्चाउनु प्रतिक्रान्तिको उच्चतम् नमूना भएको बताए ।

जनता छिट्टै सरकारको दमन र अत्याचारविरुद्ध प्रतिरोधमा उत्रने जिकिर उनको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै यही भदौ ७ गते साँझ सर्वोच्च परिसरबाट तेस्रोपटक गिरफ्तारपछि उनलाई नुवाकोट लगिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार