गुण्डागर्दीमा सक्रिय जितेन्द्र (दावा) लामा पक्राउ परेका छन् । दुबईबाट दिल्ली हुँदै काठमाडौं आउने क्रममा भारतीय प्रहरीले लामालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
लामासहित उनका साथी समेत पक्राउ परेका छन् । लामा तरण दल काभ्रेका कार्यबाहक अध्यक्ष समेत हुन् । लामालाई पक्राउ गरिएकोमा नेपाली कांग्रेसको भातृ संगठन तरण दल विरोध गर्दै सकुशल रिहा गर्न माग गरेको छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको राजधानीको शान्तिनगरमा गोली हानी हत्या भएपछि प्रहरीले दावा लामाको खोजी गरेको थियो । हत्याकाण्डका मुख्य नाइके भनिएका बुटवलका मनोज पुनसँग समेत दावाको सम्बन्ध रहेको आधारमा प्रहरीले उनलाई पक्राउ गर्न भारतीय प्रहरीलाई आग्रह गरेको बुझिएको छ ।
गुण्डागर्दीको संसारमा परिचित काभ्रेका गणेश लामासँग निकट रहेको काम गरेका दावा पछिल्ला वर्षहरुमा भने आफैले गुण्डा समूह निर्माण गरेका थिए । २०७३ चैतमा गौरीघाटको एक जिम क्लबबाट निस्कदै गर्दा लामामाथि गोली प्रहार भएको थियो ।
२०७१ भदौमा महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पनि लागु औषध बोकेको आरोपमा लामालाई समातेको थियो ।news24nepalबाट







