वाम चिन्तक समीर अमिनको सम्झनामा आयोजित कार्यक्रममा सत्ताधारी नेकपा निकट वाम बुद्धिजिवी तथा विश्लेष्कहरुले दलाल पुँजीवादसँग राजनीतिक नेतृत्वले हिमचिम बढाउँदा कम्युनिष्टले भनेजस्तो समाजवादमा पुग्न नसकिने बताएका छन् ।

सत्ताधारी नेकपाका नेता घनश्याम भुसालले समीर अमिनको विचार नेपालको सन्दर्भमा सन्दर्भिकक भएको उल्लेख गर्दै अहिलेको राजनीतिक नेतृत्व दलाल पुँजीसँग सचेत रहनुपर्ने उल्लेख गरे ।

घनश्याम भुषालले नेकपाका नेताहरू दलाल पुँजीपतिसँगकाे हिमचिममा रमाइरहेकाे भन्दै यही पाराले देशमा समाजवाद नअाउने बताएका छन् ।

‘दलाल पुँजीवाद’ को दोस्रो व्याख्याताका रुपमा विश्वभर परिचित समीरको गएको साउन २७ गते ८६ वर्षको उमेरमा निधन भएको थियो । भुसालले नवगठित नेकपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको समाजवादमा पुग्न पार्टीको माथिल्लो तहमा बस्ने नेताहरुनै पहिला सुध्रिनु पर्ने बताए ।

‘अहिले नेता व्यापारी जस्तो, व्यापारी नेता जस्तो भएका छन् । दलाल पुँजीवादको संरक्षण माथिबाट भएसम्म समाजवाद आउँदैन । त्यसकारण सुधार तलबाट होइन माथिबाटै हुनुपर्छ,’ भुसालले भने ।

उनले अहिले राजनीतिज्ञ, सुरक्षा निकाय, प्रशासनको अनाआवश्यक सम्बन्ध व्यापारीहरुसँग रहेको आरोप लगाए । जनताले असाधरण मत दिएको नेकपाभित्र दलाल पुँजीका बारेमा व्यापक छलफल, विमर्श नगरे विगतमा जस्तै पार्टीले ठक्कर खाने चेतावनी दिए ।

भुसालले पार्टी क्रान्तिको एजेन्सी बन्नुपर्ने र त्यसो नभए नेकपा विघटन हुन समय नलाग्ने भविष्यवाणी गरे ।

कार्यक्रममा झलक सुवेदीले केन्द्रमा मात्र पुँजी केन्द्रित हुने अहिलको अवस्थाप्रति सत्तारुढ नेकपा गम्भीर बन्नुपर्ने बताए । समाजवादका संभावना कम हुँदै गएको अवस्थामा दलाल पुँजीमाथि नेकपाले हस्तक्षेप गर्नुपर्ने सुवेदीको सुझाव थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार