कैलालीको घोडाघोडी नगरपालिका– ६ का ३२ वर्षीय हरिषबहादुर कुँवर आफ्नै नाता पर्ने १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
उनले यही भदौ १३ गते राति ती किशोरीलाई बलात्कार गरेको आरोप छ । विशेष सुराकीका आधारमा आइतवार साँझ ७ बजे लम्की चुहा नगरपालिका–१० चुहाबाट पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
अभियुक्त कुँवरकी छोरी र पीडित बालिका स्थानीय स्कूलमा कक्षा ७ मा सँगै पढ्छन् ।
अभियुक्त र पीडित बालिकाका बुवाबीच मामाभाञ्जाको नाता पर्ने कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
post middle
प्रहरी उपरीक्षक घिमिरेका अनुसार घटना भएको दिन घरमा ती किशोरी र उनका अशक्त हजुरबुवा मात्रै थिए । बुवाआमा पहाड घर अछाम गएका थिए ।
‘त्यही मौका छोपेर राति १० बजे घरमा प्रवेश गरेका कुँवरले बालिकाकै सलले दुवै हात बाँधेर मुखमा कपडा कोची जवर्जस्तीकरणी गरे’, प्रहरी उपरीक्षक घिमिरले भने– ‘करणीपश्चात बालिका बेहोस् भएपछि मरी भनेर छाडेर कुँवर घर गएका रहेछन् ।’
राति १ बजे होस् खुलेपछि बालिकाले आफ्नो बुवालाई घटनाबारे जानकारी गराएकी थिइन् । ‘प्रहरीमा १५ गते उजुरी परे पनि मान्छे पहिचान भइसकेकोे हुँदा हामीलाई सहज भयो’, प्रहरी उपरीक्षक घिमिरेले भने– ‘उजुरीपछि खोजी गर्यौं । प्रमाण जुटाउन बालिकाको स्वास्थ्य परिक्षण गरिसकेका छौं ।’
घटनालाई गाउँघरमै मिलाउने प्रयास भएको सूचना पाएपछि जिल्ला प्रहरीले नै सो मुद्दा हेरिरहेको छ । हाल पीडित बालिकाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बलात्कारका क्रममा बलात्कारीको दाँतले बालिकाको गालामा चोट समेत लागेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।
उनलाई थप उपचार र मनोपरामर्शका लागि ओरेक नेपालको सेफ हाउसमा राखिएको छ । प्रहरीले कुँवरविरुद्ध जबर्जस्तीकरणीको मुद्दा चलाएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ख) बमोजिम १४ देखि १६ वर्षसम्म कैद र २२८ बमोजिम क्षर्तिपूर्ति भराउने व्यवस्था छ । लाेकान्तर







