नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मालाई रिहा गर्न सर्वोच्चले आदेश दिएको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशको अवहेलना गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा छाड्न पुनः आदेश जारी गरेको हो ।
मुद्दाको अनुसन्धान गरी प्रयाप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै सर्वोच्चल उनलाई रिहा गर्न आदेश दिइएको छ । त्यसैगरी, सर्वाेच्चले नेपाल प्रहरीलाई मुलुकी संहितामा भएका व्यवस्थाहरुको समेत ख्याल गर्न दोस्रो पटक ध्यानाकर्षण गराएको छ ।
यसअघि पनि सर्वोच्चले बिना जानकारी र अभियोग नभई पक्राउ गर्न नपाउने लगायतका मुलुकी संहिताको व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएको थियो । विश्वकर्मालाई अदालत रिहा गर्न आदेश दिए पनि बारम्बार छोड्दै पक्राउ गरेकोमा गम्भिर चासो व्यक्त गर्दै सर्वोच्चले सरकारको ध्यानाकर्षण समेत गराएको छ







