काठमाडौँ–
प्रसङ्ग १ :
‘मुलुकमा अझै पनि जातीय हिंसा भड्काउने कोसिस भइरहेको छ । त्यसबाट सचेत रहनुपर्ने आवश्यता छ । सामाजिक चेतनाको माध्यमबाट समाजलाई भड्काउन खोज्ने तत्वहरूलाई निस्तेज पार्न सबै निकायको भूमिका हुन्छ । आत्मअनुशासनको माध्यमबाट मुलुकमा हिंसा, हत्या, बलात्कार लगायतको घटना हुन नदिन सबै पक्ष संयमित हुनुपर्छ । दिनदिनै बालिका बलात्कारलगायतका घटनाले नेपाली समाज अधोगतितर्फ उन्मुख भएको जस्तो देखिन्छ । त्यसलाई निस्तेज पार्न सिङ्गो समाज गम्भीर बन्नुपर्छ । समाजमा उछाल्ने कुरा, हिंसा कसरी भढ्काउन सकिन्छ, विखण्डनको विष कसरी छर्न सकिन्छ ? यस्ता प्रयासहरू पनि भइरहेका छन् । तिनलाई परास्त पार्नुपर्छ ।’
यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा संविधान दिवस, मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै दिएका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय हिंसा भड्काउन कोसिस भइरहेको बताएको अर्को दिन पनि त्यस्तै आशय व्यक्त गरे ।
प्रसङ्ग २ :
कर्णाली प्रदेश तथा प्रदेश ७ मा मनाइने गौरा पर्वको अवसरमा विज्ञप्तीमार्फत शुभकामना सन्देश दिने क्रममा प्रधानमन्त्री ओलीले जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रूपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गरेको बताएका छन् ।
‘नेपालका विभिन्न सांस्कृतिक पर्वहरूले नेपालीहरूलाई एकताबद्ध गराउने काम गरेको छ । नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रूपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गरेका छन् । शुभकामना सन्देशमा थप उल्लेख छ ‘नेपालका विभिन्न भाषा, संस्कृति, भेषभूषा रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
‘अहिले भारतमा माओवादीको नाममा वा नश्लवादीहरूको नाममा धमाधम प्रक्राउ गर्ने काम सुरु भएको छ । उनीहरूलाई पक्राउ गरेर त्यहाँको सरकारले सबै मिडियामा प्रचारबाजी गरेको देखिन्छ । सरकारका कमजोरीलाई त्यस्ता गतिविधिले छोपछाप गर्ने काम भइरहेको छ ।
जातीय वा क्षेत्रीय मुद्दामा यति बेला देशमा ठूला आन्दोलन भएका छैनन् । सडकमा पनि त्यस्ता गतिविधि देखिएका छैनन् । आदिवासी जनजाति महासङ्घले भदौ १ देखि लागू भएको अपराध र देवानी संहितामा भने आपत्ति जनाउँदै गृहमन्त्रीसमक्ष भदौ ५ गते ज्ञापन पत्रबुझाएको थियो । महासङ्घले अपराध र देवानी संहिता एकल जातिवादी र नश्लवादी भएको भन्दै सच्याउन माग गरेको थियो ।
महासङ्घले राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्नेलगायत माग राखेर नाङ्गो प्रदर्शन गर्दा पक्राउ परेका बिकेन लिम्बुलाई रिहा गर्न आग्रह गरेको थियो । त्यस्तै महासङ्घले गौबधको झूटो आरोपमा पक्राउ गरिएकालाई रिहा गर्न पनि माग गरेका थिए ।
जनजाति महासङ्घका गतिविधि सामान्य रहेका छन् । मधेसमा सीके राउतले आफ्ना गतिविधि गरेको बतायए पनि तनावको स्थिति छैन् । विप्लवका गतिविधिलाई सरकारले हिंसा भड्काउने गतिविधि भएको बताउँदै आएको छ । सो पार्टीले जातीयभन्दा पनि राजनीतिक मुद्दा उठाएको छ । सो पार्टीका नेता चन्दा सङ्कलनको आरोपमा पक्राउ परेका छन् ।
तर, यस्तो समयमा प्रधानमन्त्री ओलीले मुलुकमा अझै पनि जातीय मुद्दा उठाएर हिंसा भड्काउन खोजेको प्रश्न किन उठाएका होलान ? वा प्रधानमन्त्रीसँग त्यस्तो गम्भीर सूचना प्राप्त भएको छ, जसका आधारमा उनले यस्तो अभिव्यक्ति दिएका छन् ।
जनजाति मुद्दामाथि समेत लेख्दै आएका विश्लेषक राजेन्द्र महर्जन प्रधानमन्त्री ओलीको अभिव्यक्ति सरकारको कमजोरी ढाकछोपको प्रयास हुन सक्ने बताउँछन् ।
उनले भारतको उदारण दिँदै भने,
‘अहिले भारतमा माओवादीको नाममा वा नश्लवादीहरूको नाममा धमाधम प्रक्राउ गर्ने काम सुरु भएको छ । उनीहरूलाई पक्राउ गरेर त्यहाँको सरकारले सबै मिडियामा प्रचारबाजी गरेको देखिन्छ । सरकारका कमजोरीलाई त्यस्ता गतिविधिले छोपछाप गर्ने काम भइरहेको छ । यहाँ पनि सरकार आफै असफल भइरहेको बेला प्रधानमन्त्रीलाई ढाकछोप गर्ने एउटा माध्यम बनाएको जस्तो लाग्छ । कुनै अर्गनाइजेसनमाथि आक्रमण गर्न लगाएर यहाँ त्यस्तै योजना बनाएको हुन पनि सक्छ । पछि कुरा उठ्यो भने त्यो डलरको काम हो । वा फलानो संस्थाको काम हो भनेर भनिदिए हुन्छ सरकारले । काम गर्न नसक्ने अनि फलानाले काम गर्न दिएन । जातीयताका मुद्दा उठाएर काम गर्न दिएनन् भनेर उम्किने उपाय हो ।’
आदिवासी जनजाति महासङ्घका पूर्वअध्यक्ष एवं हाल सत्तारुढ नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा प्रधानमन्त्रीले सूचनाकै आधारमा यस्तो अभिव्यक्ति दिएको ठान्छन् । ‘उहाँले कुनै आन्दोलनकारीलाई उत्तेजित बनाउन भन्या हो जस्तो लाग्दैन । अब विभिन्न तरिकाले सरकारलाई असफल बनाउन वा अफ्ठ्यारोमा पार्न भएका केही प्रयास थाहा पाएर भन्नुभएको हुन सक्छ ।’
उनले भने, ‘समाजमा अनेकथरी मानसिकता बोकेका समूह वा व्यक्तिहरू जसले सरकारलाई अफ्ठ्यारोमा पार्ने गर्छन् । उनीहरूका केही गलत गतिविधिबारे सूचना पाएर त्यसैको आधारमा भन्नु भएकोे हुनसक्छ । मेरो विचारमा अहिले त्यस्ता जातिय हिंसा भड्काउने खालका गतिविधि भए जस्तो त लाग्दैन । तर, प्रधानमन्त्रीले नै बोलेपछि केही न केही सूचना पाएर नै बोल्नुभएको होला ।’
विश्लेषक महर्जन जातीय आन्दोलन अहिले त्यति सङ्गठित नभएको बताउँछन् । यस्तो बेला प्रधानमन्त्री किन डराए भन्ने प्रश्न छ ।
‘ठ्याक्कै थाहा छैन, प्रधानमन्त्री ओलीले कसलाई सङ्केत गर्दै छन् । अब विप्लवलाई भनौँ भने पनि उनीहरूको जातियतावादी त्यस्तो कुनै मुद्दा भए जस्तो लाग्दैन । अलि बढी उठ्न सक्ने भनेको लिम्बुवानको हो । उनीहरू धेरै छरपष्ट छन् । उनीहरूले यो मुद्दा उठाउन सकिरहेका छैनन् । जातिय हिंसा भड्काउने कुनै आन्दोलन भएका पनि छैनन् । कतै मिडियातिर लेख पनि आएका छैनन् । यस्तो बेला प्रधानमन्त्रीलाई केको डर हो ?’ उनले भने, ‘नेकपा र काँग्रेसमा जनजातिको बलियो पकड छ । उनीहरू गुपचुप छन् । बीचमा अलिकति फरक धार जस्तै आएको थियो । त्यो पनि निष्कृयजस्तै छ । बरु मधेसका मुद्दाहरू उठिरहेका छन् । जातीय हिंसा भड्काउने खालका सक्रियता पछिल्ला दिनमा कसैको देखिँदैन ।’
जातीय मुद्दा शिथिल देखिए पनि मुलुकमा अपराध भने बढेका छन् । यो नेकपाका सरकारका लागि चिन्ताको विषय भएको छ ।







