नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले अाेली सरकारले साँच्चिकै वार्ता चाहेकाे हाे भने उसले अाफ्ना गिरफ्तार नेता र कार्यकर्ताहरूकाे तत्काल रिहाइकाे शर्त अगाडि सारेका छन् ।

सरकार एकातिर अाफ्ना नेता कार्यकर्ताहरू धमाधम गिरफ्तार गरिरहने अर्काेतिर वार्ताकाे कुरा गर्नु अनाैठाे भएकाे बताएका छन् । अाफ्नाे पार्टी निकट पत्रिकामा पार्टीकाे नयाँ भिजन राख्दै उनले सरकार यदि वार्ता चाहन्छ भने यी शर्तहरू पूरा गर्नु पर्ने बताएका छन् ।

महासचिव विप्लवले यसरी यी शर्तहरू पूरा गरेकाे खण्डमा अाफुहरू वार्ताका लागि तयार भएकाे बताएका छन् । यस्ता छन् नेकपाका शर्तहरू –

सरकारले हामीसँग राजनीतिक आचरण देखाउन चाहन्छ भने प्रथमतः सरकार हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउँदै (अघोषित रूपले) यति चर्को दमनमा आउनुपर्ने कुनै कारण नै छैन । उसले दमन तुरुन्तै रोक्नुपर्छ र गिरफ्तार गरिएका कमरेड प्रकाण्डलगायत नेताहरूलाई तुरुन्त मुक्त गर्नुपर्छ ।

राजनीतिक विचार र आस्थाका आधामा गरिएको दमनप्रति माफी माग्नुपर्छ । दोस्रो, सरकारले वार्ताको नाटक बन्द गरेर राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता र पार्टी स्वतन्त्रतालाई सुनिश्चित गर्नुपर्छ र नेपाल कम्युनिस्ट पार्टीका विचार र नीतिहरूलाई जनताका बीचमा राख्दा सुन्ने आँट गर्नुपर्छ । यति वैचारिक प्रतिस्पर्धामा अलिकति पनि आँट छ भने नेपाल कम्युनिस्ट पार्टीलाई खुला कार्यक्रमहरू गर्न र विचारहरूमा प्रतिस्पर्धा गर्ने हिम्मत गर्नुपर्छ । तेस्रो, पार्टीका विरुद्ध लगाइएका झूट्टा मुद्दाहरू खारेज गरिनुपर्छ र निर्वाध रूपले क्रान्तिकारी नेता–कार्यकर्ताहरूलाई जनताका बीचमा पुग्ने र वैचारिक राजनीतिक प्रतिस्पर्धा गर्ने छूट दिनुपर्छ । चौथो, विदेशी विशेषतः भारतीय साम्राज्यवादी तत्वका सामु घोर आत्मसमर्पण गर्दै गरिएका राष्ट्रघाती सम्झौताहरू खारेज गर्नुपर्छ र उसको गुलामीका लागि क्रान्तिकारी, देशभक्त, प्रगतिशील शक्तिहरूमाथिको दमन रोक्नुपर्छ ।

पाँचौँ, नेपाली श्रमिक वर्ग, जाति, समुदायमाथि भइरहेको विभेद, उत्पीडन, दमनको अन्त्य गर्दै जनताका अधिकारहरूलाई वास्तविक रूपमा सुनिश्चित गर्न तयार हुनुपर्छ । छैटौँ, नेपालमा दलाल पुँजीवादी राज्यसत्ता राख्ने वा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने भन्ने राजनीतिक अधिकार पूर्ण रूपले नेपाली श्रमिक जनतामाथि निर्भर छ । जनताको यो अधिकार कुनै पनि बहानामा कुण्ठित गरिनु हुँदैन । जनताको अधिकार सुनिश्चित गर्न सरकार तयार हुनुपर्छ । यी कुराहरूप्रति बेवास्ता गर्दै हाम्रो पार्टीका बारेमा भएनभएका नितान्त झूट प्रचार गर्दै दमन गरिरहिन्छ भने केपी—प्रचण्डले बुझेकै हुनुपर्छ र बुझ्नुपर्छ– उनीहरूले भीषण प्रतिरोधको सामना गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार