नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई मंगलबार भोजपुर लगिएको छ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलीपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा राखेर भोजपुर लगिएको हो।प्रहरीले श्री एअरलाइन्सको जहाजमार्फत बिहान ११: ५० बजे उनलाई ‘सुटुक्क’ विराटनगर विमानस्थल ल्याएको थियो।
विराटनगर ल्याउने औपचारिक जानकारी नदिए पनि उक्त कुरा थाहा पाएर विमानस्थलमा पुगेका संचारकर्मीलाई छल्दै प्रहरीले उनलाई पूर्वतर्फको नेपाल आयल निगमको बाटो प्रयोग गर्दै त्यहाँबाट बाहिर निकालेको थियो।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भोजपुरतर्फ लगिएका ‘प्रकाण्ड’ लाई मोरङ प्रहरीको टोलीले दुहवी सम्म पुर्याएर सुनसरी प्रहरीको जिम्मा लगाएको जानकारी दिए।
सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न सोमबार तेस्रो पटक आदेश दिएको थियो। यसअघि भदौ १ र ७ गते पनि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो। तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस अघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनीसहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ।
प्रकाण्डसहित सबैका नाममा जिल्ला अदालतले वारेन्ट पनि जारी गरिसकेको छ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जिल्ला अदालत भोजपुरले तीनवटा मुद्धामा वारेन्ट जारी गरेका कारण ‘प्रकाण्ड’ लाई अदालतमा उपस्थित गराउन भोजपुर लगिएको जानकारी दिए ।
‘प्रकाण्ड विरुद्ध विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योग सम्बन्धीका मुद्धा दर्ता भएर अदालतले वारेन्ट जारी गरेको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले भने, ‘अदालतले वारेन्ट जारी गरेका कारण पक्राउ गरेर बुझाउनु प्रहरीको कर्तव्य हो।’
उनका अनुसार भोजपुर पुर्याएर ‘प्रकाण्ड’ लाई अदालतमा पेश गरिने भएकाे छ।







