काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टलाई राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सभापति बन्ने बाटो खुलेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले सांसद भट्टलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट दिगो विकास तथा सुशासन समितिको सदस्यमा स्थानान्तरण गरेसँगै उनलाई दिगो विकास तथा सुशासन समितिको सभापति हुनलाई बाटो खोलि दिएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबारको बैठकमा उक्त समिति सदस्यहरुको नाम हेरफेर सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद तारादेवी भट्टको ठाउँमा भने सांसद ईन्दु कँडरियालाई पठाइएको छ । समिति सदस्यमा नाम हेरफेर सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाए पछि दिगो विकास तथा सुशासन समितिमा भर्खरै प्रवेश पाएकी कांग्रेस सांसद भट्टको सो समितिकी सभापति हुने कुरा पक्कापक्की भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतका ४ विषयगत समितिहरु मध्ये ३ वटा समितिहरुले यही भाद्र १३ गते नै सभापति पाईसकेका छन् भने बाँकी रहेको एउटा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने दलहरुबीच यस अघि नै सहमति भएको थियो ।
यही भाद्र १३ गते सम्पन्न विषयगत समितिको निर्वाचन मार्फत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा नेकपा(नेकपा)की सांसद दीलकमुारी रावल थापा(पार्वती), विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा(नेकपा)कै सांसद परशुराम मेघी गुरुङ, तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा पनि नेकपा(नेकपा)कै सांसद रामनारायण विडारी निर्विरोध निर्वाचित भैसकेका छन् ।
दलहरुबीचको सहमति अनुसार बाँकी रहेको दिगो विकास तथा सुशासन समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद तारादेवी भट्टलाई उठाउने तयारी गरे तापनि उनी अर्कै समितिमा सदस्य रहेकाले सो समितिको निर्वाचन कार्यक्रम भने स्थगित गरिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस अघि नै दिगो विकास तथा सुशासन समितिको सभापतिका लागि आफ्नो दलकी सांसद तारादेवी भट्टलाई उठाउने बताइसकेको छ ।राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दिगो विकास तथा सुशासन समितिको सभापतिका लागि पर्सी भाद्र २१ गते अपरान्ह सवा ४ बजे निर्वाचनका लागि दिन तोकेको जानकारी गराउँदै सोही अनुरुप निर्वाचन कार्यतालिका प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँललाई निर्दशन समेत दिए ।







