कञ्चनपुरको भीमदत्तनगरपालिकामा भएको निर्मला पन्त हत्याकाण्डपछि भड्किएको हिंसाको मुख्य कारण प्रहरी प्रमुख र मेयरको कमजोरी भएको कांग्रेसले निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा गठन भएको अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय प्रहरी बिट, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीले खोजविनमा सहयोग नगरेका कारण घटनाको छानविनबाट दोषी पक्राउ पर्न नसकेको जनाइएको छ ।
बडुको नेतृत्वमा केन्द्रीय सदस्य बीरबहादुर बलायर सदस्य रहेको समितिले घटनापछि भीमदत्त नगरपालिकाका मेयरले घटनास्थलमा नगई कहिले प्रहरीले रोकेको त कहिले सर्पले टोकेर मृत्यु हुन सक्नेजस्ता अभिव्यक्ति दिएको र नेकपाकै एक उच्च नेताले कांग्रेसले लाशमाथि राजनीति गरेको भनेर आरोप लगाएर परिस्थितिलाई उत्तेजित बनाएको अरोप लगाइएको छ ।
अध्ययन प्रतिवेदनको बारेमा व्यवस्थापिका संसदमा जानकारी गराउँदै बडुले खोजविनका लागि स्थानीय प्रहरी बिट, वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयसमेतबाट आज समय छैन, भोलि फोटोसहित उजुरी दर्ता गरे खोजौंला के को हतार भनेर अत्यन्त हल्का र गैरजिम्मेवार जवाफ दिएको बताए ।
प्रतिवेदनमा पन्तको बलात्कारपछि हत्या गरिएको घटना मानव सभ्यताकै कलंकको रूपमा अंकित भएकाले छानविनमा सहयोग पु¥याउने र वास्तविक दोषी पत्ता नलगाई ढाकछोप गर्ने प्रयास देखिएमा न्यायका लागि सम्पूर्ण जनता पुनः सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
कांग्रेसका नेता बडूले पन्त हत्याकाण्डको छानविनमा गम्भीर हुन सरकारसँग आग्रह गरेका छन् । उनले घटनाको छानविन गरेर दोषीमाथि कारवाही गर्नका लागि गम्भीर हुन सरकारसँग आग्रह गरेका हुन् ।infokhabar बाट







