२०७४ को फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बंगलाको जहाजअवतरणका क्रममा भएको दुर्घटना छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गुपचुप बुझाएको छ।
यसअघिका दुर्घटनाको छानविन गर्न बनेका समितिले सार्वजनिकरुपमा कार्यक्रम गरेर मन्त्रीलाई बुझाउने परम्परा रहेपनि यो पालिको समितिले गोप्यरुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बुझाएको छ।
अहिले सुझाव र प्रतिक्रियाका लागि विभिन्न निकायमा पठाइने र त्यसपछि एकैपटक वेवसाइटमार्फत सार्वजनिक गरिने समितिका सदस्यसचिव तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
यसअघि नै मिडियाबाट सार्वजनिक भइसकेको प्रतिवेदन गोप्यरुपमा बुझाएको हो।
दुर्घटनाको कारण, भविष्यमा त्यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानीको सुझाव दिन पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदनले पाइलटको कमजोरीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको एक सदस्यले जानकारी दिए।
छानविनका निष्कर्षसहित सार्वजनिक गरेर सबैतिरबाट सुझाव र प्रतिक्रिया माग्ने चलन रहको थियो। तर गोप्यरुपमा बुझाइदा यसबाट अहिलेको प्रतिवेदनमा के थियो र पछि आउँदा कस्तो आउछ भन्ने थाहा नहुने अधिकारीहरुको आशंका रहेको छ।
‘यसरी दुर्घटनाको प्रतिवेदनमा सकेसम्म एयरलाइन्सलाई जोगाउनेगरी निष्कर्ष आउने खतरा हुन्छ त्यसैले सार्वजनिक गरेर सुझाव लिने परम्परा रहेको छ’ मन्त्रालयका एक अधिकारीले सेतोपाटीसँग भने।
नेपाली आकाशको चौथो ठुलो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको सबैभन्दा ठुलो उक्त दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए।







