कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने क्रममा घटनामा मुछिएका निलम्बित एसपीका छाेरा र मेयरका भतिजलार्इ पनि प्रहरीले प्रकाउ गरेकाे छ। भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ‘भीआईपी संदिग्ध’को रुपमा लिइएका ती दुर्इ जनाकाे प्रहरीले बयान लिएको छ ।
घटनामा आशंकाको घेरामा पर्दै आएका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका दाई भुपेन्द्र विष्टका छोरा आयुश विष्टसँग प्रहरीले बयान लिएको हो ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै डेढ महिना पुग्दैछ । अझैसम्म वास्तविक हत्यारा सार्वजनिक गर्न नसकेपछि गृहमन्त्रालयले घटनकाे सत्य तथ्य पत्ता लगाउन अर्काे अनुसन्धान टाेली गठन गरेर पठाएकाे छ।
post middle
नयाँ अनुसन्धान टाेली गएपछि घटनामा मुछिएका निलम्बित एसपीका छाेरा र मेयरकाे भतिजकाे बयान लिएकाे प्रहरी स्राेतले बताएकाे छ।
कञ्चनपुरका एसपी कडायतले घटनामा उनीहरूको पनि नाम मुछिएकाले अनुसन्धानको क्रममा अनुसन्धान टाेलीकाे निर्देशनमा बयान लिएको जानकारी दिए । उनीहरूमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै एसपी कडायतले भने, ‘मेयरका भतिजा र एसपीको छोरासँग बयान लिएका छौ । हालसम्म उनीहरूबाट कुनै ठोस प्रमाण पाएका छैनौ । जुनकारण उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति देखिएको छैन ।’
एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय नयाँ टोलीले कञ्चनपुरमा अनुसन्धान थालेपछि उनीहरुकाे बयान लिइएकाे प्रहरी स्राेतले बताएकाे छ। उनीहरुकाे यस्ताे बयानले नयाँ टाेलीलार्इ समेत अनुसन्धान गर्न कुनै सूइकाे भेटिएकाे छैन्।
प्रहरी उपरीक्षक कडायतले निर्मला पन्त हत्याका अपराधीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने दावी गरे । उनले भने, ‘हत्यारा कुनै पनि हालतमा उम्किन पाउँदैन । घटना दिनदहाडै भएको छ । हामी प्रमाण संकलन गर्दैछौं ।’ प्रहरीले केही ढिलो भएपनि वास्तविक हत्यारा पत्ता लगाएरै छोड्ने प्रतिवद्धता जनाएको छ ।







