भदौ १२ गते राजीनामा दिने बताएका डोल्पा जिल्लाका सांसद धनबहादुर बुढाले फागुनसम्म राजीनामा नदिनेभएपछि सत्ताधारी नेकपा नेता वामदेव गाैतमलार्इ ठूलाे धक्का लाग्न पुगेकाे छ ।

बुढालाई राजीनामा दिन लगाएर बर्दिया–१ बाट चुनाव हारेका नेता  वामदेव गौतमलाई उपनिर्वाचन लडाउने सत्ताधारी नेकपाको तयारी थियो । जिल्लाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिकाका मतदातासँग अन्तक्र्रियापछि बुढाले फागुनसम्म राजीनामा नदिने सोच बनाएपछि नेता वामदेवलार्इ यस्ताे धक्का लागेकाे हाे ।

स्मरणरहाेस् पर्यटन राज्यमन्त्रीसमेत रहेका बुढाले यसअघि जिल्लाका आठवटै तहका उपलब्ध जनप्रतिनिधिलाई मन्त्रालयमै बोलाएर रायसुझाव मागेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारणसहित निर्णय गरे मात्रै राजीनामा दिने पक्षमा रहेको सांसद बुढा निकट स्रोत बताउँछ । जिल्लाका मतदाताले पनि त्यस्तै सुझाव दिएकाले उनी तत्काल राजीनामा दिने तयारीमा नरहेको स्रोतको दाबी छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा जिल्लाका मतदाताले राजीनामाबारे खासै रोष प्रकट नगरे पनि सांसद स्वयंले आफ्नो राजनीतिक सुनिश्चितता चाहेको औँल्याउँछन् ।

“राजीनामाको कुरा सांसदको आफ्नै तजबिजमा भन्दा पनि पार्टीले नै राजीनामाको निर्णय गरिदिए हुन्थ्यो भन्ने उहाँको आशय छ,” उनले भने ।

यता नेकपा एक स्थायी सदस्यले भने बुढालाई राजीनामा गराएर वामदेवलाई उमेदवार बनाउने विषयमा पार्टीमा छलफल नै नभएको बताएका छन् । उनले भने, “स्थायी कमिटीको तहमा यस विषयमा छलफल भएको छैन । अन्यत्र पनि औपचारिक रूपमा छलफल भएको मैले बुझेको छैन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार