कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढमहिना पुग्न लागेको छ । डेढमहिना लामो अनुसन्धानबाट पनि हत्यारा पत्ता लाग्न सकेको छैन । तर प्रहरीले निर्मलाका बुवा आमालाई हत्यारा पत्ता लाग्ने भन्दै आश्वासन दिइरहेको भए पनि परिवार र आफन्त भने प्रहरीकै गतिविधिप्रति विश्वस्त देखिन्नन् ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको भनिएको स्थानमा रगत लतपतिएको कपडा प्रहरीले नै पखाल्नु, निर्मला गएको भनिएको घरको कम्पाउन्डमा रहेको अम्बाको रुख काटिनु, निर्मला हराएको भनिएको दिनमै प्रहरी कार्यालय पुग्दा प्रहरीले देखाएको व्यवहारलगायतले पनि पन्त परिवार प्रहरीको अनुसन्धानप्रति नै आश्वस्त हुन सकेको छैन ।

निर्मलाको रगत लतपतिएको कपडा प्रहरीले पखालीदिएको भिडियो सार्वजनिक भएपछि स्थानीयले प्रहरीले मुख्य दोषी लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

प्रहरीले यसअघि नै निर्मला हत्याकान्डमा भीमदत्तनगर १९ का दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिसकेको छ । घटनाको २५ औं दिनमा सार्वजनिक गरिएका दिलिपको स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ । तर दिलिपका परिवारजनले प्रहरीले दिलिपलाई यातना दिएर कसुर स्वीकार गर्न लगाएको बताउँदै आएका छन् ।

मानसिक रोगी रहेका दिलिपको बारेमा प्रहरीले थप कुरा बताउन चाहँदैन । स्थानीयले निर्मला हत्याकान्डमा कञ्चनपुरका तत्कालीन एसपी (हाल निलम्बित) डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै आन्दोलन गरेका थिए ।

त्यसपछि कञ्चनपुर प्रहरीले एसपीका छोरा किरण बिष्ट र मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्टसँग सोधपुछ गरेको र घटनामा संग्लन भएको आधार नपाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । यसअघि प्रहरीले दिलिपलाई भदौ ४ गते अभियुक्तका रुपमा सार्वजनिक गरेपछि मुख्य दोषीको बचाउ गरेको भन्दै प्रदर्शनकारीले चर्काएको आन्दोलन हिंसात्मक बनेको थियो । जसका कारण स्थानीय १४ वर्षीय सनी खुनाको ज्यान गएको थियो भने कैयौं घाइते छन् । घाइतमध्ये १८ वर्षीय अर्जुन भण्डारा काठमाडौंमा उपचाररत छन् । दिलिपलाई भदौ १२ गतेबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकको निगरानीमा राखिएको डीएसपी ओझाले बताए ।

रोशनी र बबिता हिरासतमा 

निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि अनिता भनिने बबिता बम र रोशनी बम प्रहरी हिरासतमा छन् । उनीहरुले अदालतमा बयान समेत दिइसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अहिले घटनाको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली पनि कञ्चनपुरमै छ । प्रहरीले बम दिदीबहिनीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको भएपनि अनुसन्धानबाट नयाँ कुरा नआएको प्रहरी स्रोतको दाबी छ ।

आईजीपी खनाल पनि कञ्चनपुरमै

निर्मला हत्याकान्डको अनुसन्धानका लागि अनुसन्धान समिति कञ्चनपुरमै रहेका बेला आईजीपी सर्वेन्द्र खनाल पनि बिहीबार कञ्चनपुर पुगेका छन् । उनले त्यहाँ पुगेर निर्मलाका बुवाआमासँग भेट गरिसकेका छन् । नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगले संयुक्त रुपमा गरेको कार्यक्रममा सहभागी हुन गएका बेला खनाल निर्मलाको घरमा पुगेका थिए ।

एकसाता अघि मात्रै गृह मन्त्री रामबहादुर थापाले आईजीपीलाई बलात्कारका घटना बढेकोमा ध्यानाकर्षण गराउँदै कञ्चनपुर घटनालाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका थिए ।

बाह्रखरी अनलाइनले तयार पारेकाे रिपाेर्टकाे सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार