कांग्रेस केन्द्रीय समितिको आकार बढेर एक सयभन्दा माथि पुग्ने भएको छ । अहिले कांग्रेस केन्द्रीय समिति ८५ सदस्यीय छ । विधान मस्यौदा हुँदै गर्दा केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव भएको हो । विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले समितिको आकार केही बढ्ने जानकारी दिए । ‘धेरै होइन, अलि–अलि बढ्छ,’ लेखकले भने, ‘संख्या प्रस्ट भइसकेको छैन । यसमा होमवर्क भइरहेको छ ।’
किन बढ्दै छ केन्द्रीय समितिको आकार ?
देश संघीयतामा गएसँगै महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारूसहितका क्लस्टर मिलाउनुपर्ने भएकाले पनि प्रतिनिधित्व बढ्ने भन्दै कांग्रेसमा संख्या थपिन लागेको हो । साथै, प्रदेशको पनि प्रतिनिधित्व बढाउनुपर्ने भएपछि केन्द्रीय समितिको आकार बढाउने तयारी भएको जानकारी ढुंगानाले दिए । १०१ सदस्यीय कार्यसमिति बने २५ जनासम्म मनोनीत हुने र बाँकी निर्वाचित गर्ने गरी प्रस्ताव तयार भइरहेको ढुंगानाले बताए ।
पदाधिकारीमा उपसभापति र सहमहामन्त्री
पदाधिकारी बढाउन सबै सहमत भए उपसभापति र केही सहमहामन्त्री बढाउन सकिने गरी मस्यौदा समितिमा छलफल भइरहेको छ । पदाधिकारीमा उपसभापति बढाउने कुरा छलफलमा छ, तर तय भइसकेको छैन ।
प्रदेशको जिम्मेवारी सहमहामन्त्रीलाई दिने र उसले समन्वय गर्ने गरी पनि छलफल भइरहेको ढुंगानाले जानकारी दिए । ‘उपसभापति र सहमहामन्त्री बढाउनुपर्छ भन्नेमा नेताहरूबीच असहमति छैन,’ ढुंगानाले भने, ‘अनुशासित, पारदर्शी, प्रजातान्त्रिक कांग्रेस बनाउन हामीले केही संख्या थपेर भए पनि पार्टीलाई गतिशील बनाउनुपर्ने विषय उठेका छन् ।’
१०१ देखि १३१ सम्मको प्रस्ताव
संरचनासम्बन्धी उपसमितिका सदस्य आनन्दप्रसाद ढुंगानाले केन्द्रमा पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउनुपर्छ भन्ने गरी मस्यौदा भइरहेको जानकारी दिए । ‘केही पदाधिकारी थप गर्नुपर्छ भन्ने पनि छ । साथै, केन्द्रीय समितिको आकार पनि बढाउनुपर्छ भन्ने छ,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘१०१, १२५ वा १३१ मध्ये एउटामा हामी सहमत भएका छौँ ।’ तर, समितिकै अर्का सदस्य नवीन्द्रराज जोशीले १०१ देखि १५१ सम्म पनि हुन सक्ने जानकारी दिए । उपसमितिले आफ्नो मस्यौदा मूल समितिलाई बुझाएपछि यकिन संख्या एकीकृत मस्यौदामा हुनेछ । nayapatrika बाट







