काठमाडौं, २२ भदौ । यसरी प्रहरी प्रमुखले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि गम्भीर अनुसन्धान भइरहेको र छिट्टै वास्तविक अपराधी पत्ता लगाएर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे पनि निर्मलाका परिवार, आफन्त र आमनागरिकले प्रहरीमाथि विश्वास गर्न सकिरहेका छैनन् ।
केही दिनअघि कञ्चनपुर प्रहरीले स्थानीय दिलिप सिंहलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेपछि निर्मलाका आफन्त झन् आक्रोशित भएका हुन् । वास्तविक दोषि उम्काउन मानसिक सन्तुलन गुमेका सिंहलाई प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको आफन्तको आरोप छ । उनीहरुले तत्कालिन प्रमुख प्रमुख र स्थानीय नगर प्रमुखका छोरा नै मुख्य दोषि भएको शंका गरेका छन् । क्रमशः घटनाक्रम रहस्यमयी बन्दै गएपछि जिल्ला प्रशासन र प्रहरी नेतृत्व नै फेरिएको छ । शंका सत्यमा परिणत भए अनुसन्धान प्रभावित पार्न खोज्ने प्रहरीलाई पनि कारबाही गर्न आफू तयार रहेको प्रहरी प्रमुख खनालले बताए ।
घटना भएको करिब डेढ महिनापछि बिहीबार नेपाल प्रहरी प्रमुख खनाल कञ्चनपुर पुगेका छन् । शुक्रबार कञ्चनपुरमा निर्मला हत्या प्रकरणमाथि आयोजित एक कार्यक्रममा मानव अधिकारवादी, नागरिक समाज, स्थानीय सबैले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषिलाई कारबाही गर्न माग गरे । जनस्तरबाट प्रहरी अनुसन्धान प्रक्रियामाथि नै शंका भइरहँदा सरकारद्वारा गठित उच्च स्तरीय छानविन समितिले पनि घटनाको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले कमजोरी गरेको निष्कर्ष निकालेको छ । समितिले अबको एकदुई दिनमै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
स्थानीय, अधिकारकर्मी र नागरिक समाजले घटनालाई प्रहरीले नै जबरजस्त रहस्यमयी बनाएको बताएका छन् । उनीहरुले घटना भएको डेढ महिनासम्म कुनै आधिकारिक सत्य बाहिर नआउनु र प्रहरीले मानसिक सन्तुलन गुमेको मान्छेलाई जबरजस्त दोषी करार गर्न खोज्नुले प्रहरीको नियतमाथि नै शंका गरेका छन् ।
स्थानीयको आक्रोश त यति बढेको छ कि, उनीहरुले यस्तो खालको प्रहरी संयन्त्र र प्रशासन हुनुभन्दा, प्रहरी नै नहुनु उत्तम हुने बताए । घटनामा संलग्नको शंका भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टलाई पनि अरुलाई जत्तिकै कडासँग केरकार गर्नुपर्नेमा स्थानीयले जोड दिए ।
स्थानीयसँगै सबै सरोकारवाला निकायले घटनाको प्रमाण लुकाउन प्रहरी नै सक्रिय भएको शंका गरिरहँदा उच्च स्तरीय छानविन समितिले पनि प्रहरीको नियममाथि शंका उब्जेको बताएको छ । समितिले एकदुई दिनमै प्रतिवेदन सार्वजनिक हुने बताउनु र प्रहरी प्रमखले पनि छिटै वास्तविक अपराधि पत्ता लाग्ने बताउनुले प्रहरी अनुसन्धान निष्कषोन्मुख भएको संकत गर्छ । अव प्रहरीले छिटोभन्दा छिटो दोषि पत्ता लगाएर कारबाही गरोस् । घटनाको दसी लुकाउन प्रहरीले नै भूमिका खेलेको प्रमाणित भए प्रहरीमाथि पनि कडा कारबाही होस् ।
हत्याको डेढ महिनासम्म के–के भयो ?
कञ्चनपुरको भिमदत्तनगर–२ उल्टाखामकी कक्षा ९ मा अध्ययनरत १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भयो । आफ्नै कक्षाकी साथीको घरमासँगै पढ्नको लागि निस्किएकी उनी साँझसम्म पनि घर नआएपछि परिवारका सदस्यले उनका साथीभाई, छरछिमेक र आफन्तकोमा सोधपुछ गरे । तर कहीँ कतै भेटिइनन् । छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरे । भोलिपल्ट निर्मलाको शव घरभन्दा केही पर उखुबारीमा भेटियो । चोट लागेको शरीर अर्धनग्न अवस्थामा थियो । गुप्ताङबाट रगतसमेत बगिरहेको थियो ।
घटना भएको २५ दिनपछि प्रहरीले स्थानीय दिलिपसिंह विष्टले बलात्कारपछि हत्या गरेको भन्दै सार्वजनिक ग¥यो । जब प्रहरीले विष्ट नै अपराधी भएको दावी गर्दै सार्वजनिक ग¥यो, तब स्थानीयको आक्रोश थामिनसक्नु भयो । उनीहरु आन्दोलनका उत्रिए । प्रहरीले जसलाई सार्वजनिक गरेको थियो ती व्यक्ति पहिले देखिनै मानसिम सन्तुलन गुमाएको बताइएको छ । प्रहरीले वास्तविक हत्यारा लुकाउने प्रयास गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । तर, प्रहरीले भने बल प्रयोग गर्दै उनीहरुको आन्दोलनलाई दवाउने प्रयास ग¥यो । यहीं क्रममा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भयो भने दर्जन बढी घाईते भए ।
स्थानीयले अनुसन्धानमा प्रहरीले नै लापरबाही गरेको शंका गरेपछि गृहमन्त्रालयले कञ्चनपुरका तत्कालीन एसएसपी र सिडियोको सरुवा गरी नयाँ छनविन टोली गठन गरेको थियो । तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाई उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको छ भने कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई पनि परिवर्तन कुवेर कडायतलाई पठाएको छ । र, घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । छानविन समितिले अहिलेसम्म घटनासंग सम्बन्धित १०० जनाभन्दा बढीसंग सोधपुछ गरिसकेको छ । तर, अहिलेसम्म ठोस तथ्य भने पत्ता लगाउन सकेको छैन । यसबाहेक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसएसपी ठाकुरप्रसाद ज्ञवालीको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको छ । तर पनि हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन ।
‘भिआईपी’का छोरासँग सोधपुछ मात्रै !
निर्मला पन्तको हत्यामा जोडिएका र स्थानीयले अनुसन्धानमा ल्याउन माग गरेका अर्का दुई पात्र हुन्ः कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिस्टका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष बिष्ट । तर उनीहरुसंग भने प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको छ । निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता भनिने अनिता बमलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । किरण र आयुष पटक–पटक वम दिदी बहिनीको घरमा आउने गरेको स्थानीयको भनाई छ । र निर्मला वम दिदी बहिनीको घर गएको समयमा पनि आयुष त्यहाँ देखिएको भनाइ छ । तर उनीहरुसंग सामान्य सोधपुछबाहेक नियन्त्रणमै लिएर बयान लिने अवस्था नरहेको प्रहरीको भनाई छ ।
मुख्य अभियुक्त भनिएका विष्ट काठमाडांैमा
बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त भनेर दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए । तर प्रहरीले भने विष्टले बलात्कारपछि हत्या गरेको स्विकार गरेको दावी गरेको छ । तर, आफन्त परिवार तथा स्थानीयले वास्चतविक अपराधीलाई बचाउन विष्टलाई सार्वजनिक गरेएको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजालाई अनुसन्धानको दायरामा ल्याउन माग गरेका थिए । अहिले विष्टको मानसिक सन्तुलन गुमे–नगुमेको पत्ता लगाउन काठमाडौं ल्याईएको छ ।
घुमीफिरी रुम्जाटार ?
कञ्चनपुर प्रहरीले स्थानीयबाट आशंका गरिएका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र कांग्रेस नेता भुपेन्द्र विष्टका छोरा आशुषसँग वयान लिएको छ । निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता भनिने अनिता बम पनि प्रहरीको नियन्त्रणमै छन् । तर, उनीहरुको वयानपछि घटनामा संलग्नता पुष्टि गर्ने आधार नभेटिएको प्रहरीको भनाइ छ ।
अन्ततः अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ । प्रहरीको नयाँ टोलीले गरेको अनुसन्धानको प्रमाणले पनि मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको बताइन्छ । त्यसैले यो घटनामा निर्मलाका हत्यारा अरु नयाँ व्यक्ति फेला नपर्ने र घुमीफिरी रुम्जाटार भनेजस्तो पुरानै व्यक्ति दोषी ठहरिन सक्ने अनुमान छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि डेढ महिना बितिसक्यो । तर, अहिलेसम्म अपराधी को हो ? भन्ने तथ्य बाहिर आउन सकेको छैन । प्रहरी, सिआईवी र गृहमन्त्रालयको उच्च स्तरीय छानविन टोलीले अनुसन्धान गर्दा पनि अहिलेसम्म हत्यारा पत्ता नलाग्नु विडम्बना हो । news24nepal बाट







