प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरको दोहन रोकिएन, थर विशेषको कार्यक्रमको थलो पनि वालुवाटार नै बन्न थालेपछि सरकारी निवासको गरिमा धमिलिदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक र अन्य सामान्य गतिविधिले बढवा पाउँदा बेला–बेलामा आलोचनात्मक टिप्पणी हुने गरेको छ । तर, त्यसले प्रधानमन्त्रीकै तहसम्म प्रभाव पार्न सकेको छैन् ।
प्रधानमन्त्रीको समय, सुरक्षासहित अन्य व्यवस्थापकीय कारणले कतिपयले यसलाई ‘जायज’ भन्ने तर्क गर्छन् । तर, प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सरकारी स्रोत–साधनमा भइरहेको ‘दोहन’ कुनै पनि कोणबाट पाच्य मानिदैन । तर, देख्नेलाई पनि लाज लाग्ने गरि प्रधानमन्त्रीबाटै भइरहेको राज्यको दोहनको दृश्यले प्रधानमन्त्री निवास बालुवाटारको गरिमा धमिलिन थालेको छ ।
दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्यूनिष्ट पार्टीको पहिलो बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाउनु राष्ट्रिय सम्पत्तिको दुरुपयोगको एक उदाहरण थियो । बैठकका लागि ठाउँ भएन भनेर प्रधानमन्त्री निवासलाई नै पार्टी कार्यालयजस्तै बनाउनु उचित र स्वाभाविक दुवै थिएन ।
एक पटकलाई मात्रै होला भन्ने अपेक्षा तव निरर्थक बन्यो जव शनिवार ओली वंशजको कार्यक्रम बालुवाटारमा आयोजना गरियो । लोकतन्त्र पुनःस्थापना भएपछि पनि कांग्रेस, एमाले, माओवादी कुनैले पनि प्रधानमन्त्री निवासमा पार्टीका कुनै न कुनै बहानाले सरकारी स्रोत, साधन र सुविधाको दोहन गर्ने परम्परा रोकेनन् । बरु, त्यसले गर्नु हुने मैले किन नहुने भन्ने ‘केटाकेटी’पूर्ण कुर्तकले यो गलत प्रवृत्ति कसैगरी पनि ढाकिने छैन ।
त्यस्तै भइदियो पनि । प्रधानमन्त्रीको सरकारी निवासमा नै एउटा थर विशेषको कार्यक्रम आयोजना थलो बनाउनुले प्रधानमन्त्रीको भनाइ र व्यवहारबीचको अन्तर देखिएको छ । ओली वंश अक्षय कोषले कार्यक्रमको लागि अन्य स्थान तयार गरेको भएपनि प्रधानमन्त्रीकै इच्छामा सरकारी निवासमा कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
राज्यको ढुकुटीबाट तोकिएको कामबाहेक अन्यत्र खर्च गर्नु भ्रष्टाचार भएजस्तै लोकतन्त्रमा सार्वजनिक सुविधाको दुरुपयोग गर्नु पनि अनैतिक हो । त्यसैले प्रधानमन्त्री ओलीले यसलाई सच्याउन जरुरी छ । तर, मुखले चर्को विरोध गर्ने र व्यवहारमा भने सरकारी निवासको दुरुपयोग गरेर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्नु पक्कै पनि राम्रो भने होइन । news24nepal बाट







