
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता देवबहादुर घर्ती मगरले नेपाल तरुण दलका लिवाङ नगर समितिका अध्यक्ष रोहित पुनलाई गोली हानेर हत्या गरेको आरोप नेपाली कांग्रेसले लगाएकाे छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर पूर्वमाओवादी केन्द्रका कार्यकर्ता समेत रहेका देवबहादुर घर्ती मगरले रोहितलाई गोली हानेर हत्याको जनाएको हो ।
‘रोल्पाको लिवाङ नगर समितिका तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आइतबार अपरान्ह साढे चार बजे तत्कालीन माओवादी केन्द्रका देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
गोली हानी हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यस्ता अपराधिक क्रियाकलापको घोर भर्त्सना गरेको छ ।
नेपाली कांग्रेसले इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको स्थानमा रोहित पुनको हत्या हुँदा पनि हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएको छ । प्रहरीले सत्ताको दवावमा शान्ति सुरक्षा नदिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले प्रहरीले तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद् भएको जनाएको छ ।
राेल्पा कांग्रेसकाे विज्ञेप्ती –








