भदौ २८/ बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुवाले आफुहरुकी छोरीको हत्यामा बम दिदीबहिनीको हात रहेको हुन सक्ने आशंका गरेका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै बुवा यज्ञराज पन्त र आमा दुर्गा पन्तले बम दिदी बहिनीमाथि नै आशंका व्यक्त गरेका हुन् ।
‘‘प्रहरीले सुरुमा बम दिदी बहीनीमाथि अनुसन्धान नै गरेन,” बुवा यज्ञराजले भने, “निर्मला रोशनीकै घरमा गएकी हुन् । उनीहरुलाई सबै थाहा छ ।”आमा दुर्गा भन्छिन्, “म १० गते साँझ नै बमको घरमा गएकी थिएँ । खोई छोरी भन्दा पोइल गएकी होली भन्दै बबिताले हप्काइन् । अर्को दिन बिहानी साइकल खोला किनारमा भेटिँदा लाश पनि त्यतै होला भनेर उनैले भन्नुको कारण के हो त ?”
आफुहरु न्यायको खोजीमा काठमाडौं आएको बताउँदै निर्मलाका बुवा यज्ञराजले प्रधानमन्त्री ओलीले मेयरको घरमा लाश राखिएको भनेर झुट बोलेको समेत बताए । मेयरको आगनमा लाश कसैले राखेको छैन । प्रधानमन्त्री ओलीले नै झुट बोलेपछि न्याय पाउने आशा कम भएको छ । न्यायका लागि आवाज उठाइदिन आग्रह गर्छौं,” पत्रकार सम्मेलनमा आमाबुवाको एउटै धारणा थियो । उनीहरुले कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपीले पनि घटनाको अनुसन्धानमा लापरवाहि गरेको बताए ।
‘‘निर्दोष दिलिपलाई फसाउन सबै लागे, सरकार गम्भीर देखिँदैन,” बुवा यज्ञराजले भने । सरकारको ध्यानाकर्षण गर्न अधिकारकर्मीको टोलीसहित काठमाडौं आएको उनीहरुले बताए । उनीहरुको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएका छन् ।
टोलीमा निर्मलाका आमाबुवासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी जोशी र रमा पन्त रहेका छन् । हामीले न्याय नपाइसकेपछि काठमाडौं आएका हौं, सबै पक्षको सहयोग चाहिएको छ,’’ अधिकारकर्मी चन्दले भनिन् । आफ्नै निजी खर्चमा काठमाडौं आएका उनीहरुले निर्मला हत्याकान्डको सत्यतथ्य जनतासामु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
कहाँ लुके त हत्यारा ?
त साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ । यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दिलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि विष्टको डीएनए नमिल्दा उनी बुधबार छुटिसकेका छन् ।
विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए । प्रदर्शनमा क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
यसअघि पक्राउ परेका बम दिदी बहीनीमा रोशनी साधारण तारेख र बबिता बम ३० हजार धरौटीमा छुटेका छन् । विष्टको डीएनए नमिलेपछि र बम दिदीबहिनी नै छुटेपछि निर्मलाको हत्यारा को हो ? भन्ने अझै अन्योल कायमै छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्यक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ ।
फाइल तस्बिर
यो पनि,
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ । निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो ।
टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएको छ ।
टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरु शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी जोशी र रमा पन्त रहेका छन् । ‘‘हामीले न्याय नपाइसकेपछि काठमाडौं आएका हौं, सबै पक्षको सहयोग चाहिएको छ,’’ अधिकारकर्मी चन्दले भनिन् । आफ्नै निजी खर्चमा काठमाडौं आएका उनीहरुले निर्मला हत्याकाण्डको सत्यतथ्य जनतासामु ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । चन्दले भनिन्, ‘‘स्वयं प्रधानमन्त्रीले नै निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएपछि कञ्चनपुरवासीको मन दुखेको छ । मेयरको आगनमा शव राखिएको छैन, प्रधानमन्त्रीलाई गलत सूचना प्रवाह भएको छ, यो सच्याइनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी कार्यक्रममा निर्मलाको शव मेयरको आँगनमा राखिएको बताएका थिए ।
कहाँ लुके त हत्यारा ?
गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत अवस्थामा भेटिएकी थिइन् । बलात्कारपछि उनको हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयोलगायत विषयमा प्रहरी अनुसन्धान जारी छ । यसअघि नै प्रहरीले मानसिक रोगी भनिएका दीलिप विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको भए पनि प्रहरी अनुसन्धानमा नागरिक र स्वयं निर्मलाका परिवार पनि विश्वस्त हुन सकेनन् । विष्टलाई पक्राउ गरेपछि अनुसन्धानमा आशंका गर्दै स्थानीयले चित्तबुझ्दो प्रहरी अनुसन्धानको माग गर्दै प्रर्दशन गरेका थिए ।
प्रदर्शनमा क्रममा प्रहरीको बल प्रयोग हुँदा गोली प्रहारबाट एकजनाको ज्यान जानुका साथै १२ जना घाइते भएका थिए । घाइतेमध्ये १८ वर्षीय अर्जुन भण्डारा अहिले पनि अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
प्रहरी अनुसन्धानका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमलाई पनि प्रहरीले पक्राउ गरेको छ । पछिल्लो अनुसन्धानबारे प्रहरीले केही बताउन चाहेको छैन । अनुसन्धानकै लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली कञ्चनपुर पठाएको छ । त्यसअघि कञ्चनपुर पठाइएका डिएसपी अंगुुर जिसीको टोलीलाई काठमाडौं फिर्ता बोलाइएको छ ।
निर्मलाको हत्यारा को हो ? अझै अन्योल छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताउँदै आएको छ । आईजीपी सर्वेन्द्र खनालसमेत निर्मलाको घरमा पुगेर निष्पक्ष अनुसन्धान र दोषीलाई पहिचान गर्दै हदैसम्मको कारबाही प्रक्रियामा ल्याउने बचन दिएर फर्किएका छन् ।
घटना झन् रहस्यमय बन्दै
पछिल्लो डेढ महिनायता सबैको ध्यान तानेको निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ । प्रहरी अनुसन्धान र सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीको राजीनामाले थप अन्योल र आशंका बढाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य केसीले सुरक्षा खतरा बढेको र अनुसन्धानबाट आफूले न्याय दिन नसकेको बताउँदै सोमबार राजीनामा दिएका हुन् । अनुसन्धानका आन्तरिक कुरा खुलासा गरे ठूलो अशान्ति मच्चिने जिकिर गर्दै उनले धेरै कुरा खोलेनन् ।
समितिका संयोजक हरिप्रसाद मैनालीले केसीको राजीनामाले प्रतिवेदन लेखनमा असर नपर्ने बताएका छन् । “अनुसन्धान अवधिभर उनले (केसीले) कुनै विमति राखेनन्, आफूमाथि खतरा भएको कुरा पनि बताएनन्, उनको बारेमा म बोल्न चाहन्न,’’ संयोजक मैनालीले भने । समितिले प्रतिवेदन लेख्ने काम सुरु गरिनसकेको पनि उनले बताए । इन्फोखबर बात साभार







