पोखरा, २८ भदौ । मानवीय संवेदना हराएपछि कस्को के लाग्छ र ? निर्मला पन्तको बलात्कारपछि समाजका कूकृत्य सार्वजनिक हुन थालेको छ । नेपाली समाज कता जाँदैछ ? प्रश्न उठ्नु अस्वभाविक होइन । कास्कीको पोखरामा बृद्धाको बलात्कारले अपराधको मानसिकता कस्तो हुदैछ भन्ने प्रश्न उठाएको छ ।
File Picture
पोखरा महानगरपालिका वडा नम्बर ३१ मोहरीयामा ७० वर्षीया बृद्धा बलात्कृत भएकी छन् । कान कम सुन्ने, राम्रोसँग बोल्न समेत नसक्ने बृद्धा आफ्नै छिमेकीबाट बलात्कारको शिकार बनिन् । बुधबार दिउँसो करिव १२ बजे कूकृत्य भयो । घरमा कोही नभएको मौका छोपी रेवतीरमण पाण्डेले बलात्कार गरेको स्थानीय शर्मीला ओझाले जानकारी दिइन् ।
बृद्धाको परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् । बलात्कारपछी बृद्धाको शरीर कमजोर भएको छ । संवेदनाहिन पाण्डेले पहिले पनि बृद्धालाई बलात्कारको प्रयास गरेको पीडितको भनाईछ । पाण्डेले बुद्धालाई हातपात गर्दा चिच्याएपछि छिमेकीले उनको उद्दार गरेका थिए ।
घटनापछि स्थानीयको सक्रियतामा पाण्डेलाई समातेर सोही घरको अर्के कोठामा थुनिएको थियो । कोठामा थुन्नेलाई पाण्डेले हातमा भएको औठी दिएर घटना लुकाउन अनुरोध गरेका थिए ।
थुनिएको कोठाबाट भाग्न सफल पाण्डेलाई भारततर्फ जानेक्रममा तनहुँको खैरेनीटारबाट प्रहरीले पक्राउ गरेको हो । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
समाजमा बढ्दो आपराधिक मानसिकता न्युनीकरणका लागि विशेष कार्यक्रम ल्याउन आवश्यक छ । यस्ता घटना हुन नदिन स्थानीयको सक्रियता पनि जरुरी रहेको छ ।







