लमजुङ, २८ भदौ । लमजुङमा ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासंगै आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको हो । पहिरोका कारण गत बुधबार मस्र्याङ्दी गाउँपालिका–३, की ६५ वर्षीया अतिरुपा थापा, थापाकी १० वर्षिया नातिनी सिराश थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी ४७ वर्षीया विष्णुकुमारी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् डिएसपी यादब ढकालले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान अर्खलेबेसीको पहिरोमा बुधबार वेपत्ता भएकी मस्र्याङ्दी गाउँपालिका–३, की ७२ वर्षीया ललितमाया गुरुङको शव भेटिएको छ । गुरुङको शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो । गुरुङसंगै जिल्लामा पहिरोमै परी मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सुचना अधिकारी काजीमान सुनारका अनुसार मस्र्याङ्दीमा आएको बाढीले २ जनालाई बगाएको छ । उनका अनुसार बेशी शहर नगरपालिका–११, रामचोकबेसी स्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका बर्दियाका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारुलाई बुधबार मस्र्याङ्दीले बगाएको हो ।
उनीहरु अझै भेटिएका छैनन् । बाढिपहिरोकै कारण ९ जना घाईते भएका छन् । मस्र्याङ्दी गाउँपालिकामा बाढिले १ वटा ट्याक्टर, ३ वटा मोटरसाईकल बगाएको छ । पहिरोकै कारण पशुचौपाया मरेका छन् ।
सहायक प्रजिअ सुनारका अनुसार बाढिपहिरोले लमजुङको उत्तरी भेगमा रहेको मस्र्याङ्दी गाउँपालिकामा बढि क्षती पुर्याएको छ । घाईतेहरुको उद्धार र उपचारका लागि २ वटा हेलिकप्टर परिचालन गरिएको छ । वेपत्ताहरुको खोजी कार्य तिब्र पारिएको छ । बाढी पहिरोबाट प्रभावित ठाउँमा प्रहरी परिचालन गरिएको छ । अवरुद्ध बेशी शहर–चामे सडकखण्ड खुलाउने प्रयास भईरहेको छ ।







