काठमाडौं, २९ भदौ । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वती क्याम्पस कमिटीले ठमेल(लैनचौर क्षेत्रमा जुलुस निकालेको छ ।
सैयौं युवा विद्यार्थी सहभागी भएको सो जुलुसलाई नेकपा केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए । नेकपा केन्द्रिय सदस्य दिलुकुमारी पन्तले बलत्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नु दुई तिहाई बहुमत प्राप्त बामपन्थी सरकारका लागि लज्जाको बिषय भएको बताइन् ।
उनले आधा आकाश ढाक्ने महिलाहरु असुरक्षित रहने मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूती कसरी सम्भव छ ? भन्ने प्रश्न समेत गरेकी थिइन् । सरकारले अपराधीलाई पक्रन नसकेको हो वा पक्राउ गर्न नचाहेको हो नागरिक दुविधामा परेको उनको आरोप थियो ।







