महोत्तरीको औरहीमा ८ महिने शिशु अपरहणपछि हत्या भएको झन्डै २० दिन पुग्दा पनि प्रहरीले हत्यारा पक्रन सकेको छैन।
औरही नगरपालिका-१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीकुमारीको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको हो।
हत्याराको पहिचान भइसकेको बताए पनि फरार उनलाई प्रहरीले अहिलेसम्म पत्ता लगाउन नसकेको हो।
महोत्तरीकै सीतापुर भंगाहा-६, जमुनियाँका भरत साहले यही भदौ ११ गते साँझ औरहीबजारस्थित चौधरीको फेन्सी पसलबाट भीडभाडको मौका छोपी उनकी छोरी लिएर बेपत्ता भएका थिए।
त्यसको भोलिपल्ट भदौ १२ गते शिशुको शव भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानास्थित बगैंचामा नग्न अवस्थामा फेला परेको थियो।
सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर लगेको देखिएको प्रहरीको भनाइ छ। घटनालगत्तै साहको खोजी भइरहेको भए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी खगेन्द्र खड्काले नेपालखबरसँग बताए।
टेलिफोनमा डिएसपी खड्काले नेपालखबरसँग भने, ‘नेपालसहित भारतसमा समेत खोजतलास ग¥यौं, धेरै प्रयास ग¥यौं तर,अहिलेसम्म पत्ता लगाउन सकेका छैनौं। प्रयास जारी छ।’
शिशुको टाउकामा चोट तथा गालामा झापड लगाएको निलडाम देखिएको थियो। प्रहरीले मृत्यको कारण मेडिलक टेस्टपछि आउने बताएको थियो।
तर, अहिले आफू बाहिर रहेकाले कार्यालयमा गएर रिपोेर्ट हेरेर मात्रै भन्न सकिने डिएसपी खड्काले नेपालखबरसँग बताए।
साथै उनले काठमाडौंबाट थप परीक्षणको रिपोर्ट आउन बाँकी रहेको पनि उनले जानकारी दिए।







