पुनर्गठित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले तत्कालीन माके अध्यक्ष पुष्पकमल दाहाल एमालेमा विलय भएसँगै जनयुद्धका उपलब्धिमा आएको पराकम्पन रोक्न सच्चा माओवादीहरुबीचको एकता हुन आवश्यक भएको बताएका छन् ।

सोमबार राजधानीमा सुरु भएको पार्टी निकट अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई बोल्दै किरातीले नेपालको राजनीतिक इतिहासमा जनयुद्धभन्दा अर्को ठूलो इतिहास नभएको तर त्यसको आधारलाई दाहालले नामेट पार्ने प्रयत्न गरेको बताए ।

“जनयुद्धबाट गरिव प्रचण्ड धनी हुनुभयो, अब उहाँलाई त्यो इतिहास नचाहिए पनि हमीलाई चाहिन्छ, किनकी जनताले उही प्रचण्डहरुबाट अन्याय र दमनको डण्डाबाट प्रतिक्रान्तिको उपहार पाइरहेका छन्” किरातीले भने ।

अध्यक्ष किरातीले जनयुद्धको नेतृत्वकर्ता मध्येका एक बाबुरामले माओवादी क्याम्प परित्यग गरेको र प्रचण्ड एमालेकरण भएर माओवादविरोधी धार बलियो बनाउन लागेको बताए । उनले विप्लव, वैद्य र आफूहरु पनि एक भएर माओवादी धारलाई बलियो बनाउनुको विकल्प नरहेको बताए ।

आफूहरुबीच एकता हुन भन्दै छलफलमै रहेको बताए । एकताका निम्ति वैद्य नेतृत्व माओवादीसँग खासै समस्या नभएपनि भन्दै किरातीले विप्लव नेतृत्वको नेकपालाई एकोहोरो सशस्त्र संघर्ष मात्र नभएर चुनावी उपयोगिताको निम्ति पनि सोच्न आग्रह गरेको खुलासा समेत गरे ।

राजनीतिक वृत्तमा आफूहरुलाई छुट्टा–छुट्टै खुद्रा पसल थापेको टिप्पणीलेप्रति संकेत गर्दै किरातीले भने, “बाबुरामले विचार त्यागे, प्रचण्डले त झन् प्रतिक्रियवादलाई दरो बनाउन लागेका छन्, बरु सब त्यागेर हामी आफ्नो आदर्श जोगाउन त तयार भएका छौं ।” उनले प्रचण्डहरुसँग आत्मसमर्पण गरेर एमालेकरण हुन चाहेको दाबी गरे ।

त्यस्तै कार्यक्रममा पार्टीका उपाध्यक्ष तिलक थापमगरले विद्यर्थीले नयाँ सोच विचारसहित अगाडि बढ्न आग्रह गरे । महासचिब कर्णजीत बुढाथोकी ‘शुशील’ले नेपालको राजनीति निकै नै जटिलतातिर मोडिएकोले युवा विद्यार्थीले त्यसलाई क्रस गर्न र पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार हुन आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार