दाङको दंगिशरण गाउँपालिका हेकुलीकी २९ वर्षीया हिरा कार्कीलाई अस्पतालले बच्चा जन्मिने मिति बुधबार भनेको थियो।
उनको अवस्था जटिल भएको हुँदा दाङमा सम्भव नहुने भन्दै राप्ती अञ्चल अस्पतालले बाँके जान सुझाएको छ। गाडी नचलेपछि हेकुली गाउँबाट अटोरिक्सामा चढेर तुलसीपुर बसपार्कसम्म आएकी कार्कीले नेपालगञ्ज जाने गाडी पाइनन्।
यस्तो अवस्थामा के गर्ने अन्योलमा छिन्। ‘काउन्टरमा सोध्दा गाडी जाँदैन भन्ने जवाफ दिए,’ कार्कीले चिन्ता व्यक्त गरिन्, ‘मेरो पहिलो बच्चा हो। यहाँको अस्पताले अवस्था जटिल छ अप्रेसन गर्नुपर्छ भनेको छ, तर आजै गाडी बन्द छ अब म के मा जाउँ!’
गाडी चलेको भए दुई सय पचासदेखि तीन सय रुपैयाँमा नेपालगञ्ज पुग्थिन्। प्रसूतिका लागि छुट्याएको बजेट अब कटौती हुने भएको छ। उनी एम्बुलेन्सबाट जान खाजिरहेकी छिन्। एम्बुलेन्समा गए उनले पाँच हजार बढी खर्च गर्नुपर्ने हुन्छ। एम्बुलेन्स पनि नपाएपछि समस्या बढेको हो। ‘एम्बुलेन्स खोजेँ, भेटेकी छैन,’ उनले भनिन्।
यातायात मजदुरहरूले गरेको बन्दका कारण सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँ जान पाएका छैनन्। संविधान जारी भएकै दिन ऐन संशोधनको माग गर्दै चालकहरूले बन्द आह्वान गरेका छन्। बन्दका कारण बुधबार बिहानैदेखि दाङसहित मध्यपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको छ।







