विप्लव नेतृत्वकाे नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शनले प्रचण्ड र बादलहरू यति चाँडाे प्रतिक्रियावादी बन्लान् भनेर अाफुहरूले नसाेचेकाे बताएका छन् ।

उनीहरू जनयुद्धकाे लाइन र क्रान्तिकारी सिद्धान्तबाट मात्र विचलित नभइ नांगाे प्रतिक्रियावादमा पतन भएकाे नेता सुदर्शनकाे भनार्इ छ । राताेपाटी अनलाइनले गरेकाे कुराकानीकाे छाेटाे अंश :

एउटा नेकपा सरकारमा छ । त्यसमा तपाईंहरू जनयुद्ध लड्दाताकाका सहयात्री पनि छन् । अर्को नेकपा तपाईंहरू सङ्घर्षमा हुनुहुन्छ । एउटै थालमा भात खाएकाहरू यसरी फरकफरक बाटोमा लाग्नुलाई कतिपयले बनावटी नाटक पनि भनिरहेका छन् नि ?

शत्रु मित्रमा बदलिन्छ । मित्र शत्रुमा पनि बदलिन्छ । यो मान्यता अहिले हामीमा लागू भएको छ । यसलाई यसैगरी बुझ्दा उपयुक्त होला । प्रचण्डजीहरू यति छिटै चरम प्रतिकृयावादी हुनुहोला भनेर हामीले सोचेका पनि थिएनौँ । यति धेरै दलालमा परिणत हुनुहोला भनेर सोचेका थिएनौँ ।

अहिले केपी ओली र प्रचण्डमा कसले भारत र युरोपियन युनियनलाई रिझाउने भन्ने प्रतिस्पर्धा छ । यति तल्लो तहमा पुगेर साम्राज्यवादको दलाल होलान् भनेर हामीले सोचेका थिएनौँ । यो त निम्न पुँजीवादी अधैर्यता हो । प्रचण्ड, बाबुराम र बादलले निम्न पुँजीवादी अधैर्यता देखाए । यो कस्तो हुन्छ भने एकछिन तात्ने र एकै छिनमा सेलाउने । जस्तो सिलिबर भनौँ । सिलबरे नेता हुन् उनीहरू । हामीलाई आज बादलले गृहमन्त्रीको कुर्सीमा बसेर अपराधी भने । एउटा राजनीतिक पार्टीलाई अपराधी करार गरेर राज गरिरहका छन् बादल ।

अब यस्तो दिन आउँदैछ कि उनीहरूले कुकुरले नपाएको दुःख पाउँनेछन् । यो सत्य कुरा हो । उनीहरूले कि कम्युनिस्टको खोल नै फालेर हिँड्नुपर्छ नत्र भने त्यो खोल ओढ्दासम्म उनीहरूले सुख पाउँदैनन् ।

तपाईंहरू सँगसँगै जनयुद्ध लडेका गृहमन्त्री बादलप्रति बढी नै रुष्ट हुनूहुन्छ ? 

बादलजीले कुकुरभक्ति नगरे हुन्थ्यो । उहाँले केपी ओलीजीको पिछलग्गू भएर क्रान्तिकारीहरूलाई दपेट्न खोज्नुभएको छ । त्यसो गर्नु उचित होइन ।

सरकारले तपाईंहरूलगायत असन्तुष्टहरूसँग वार्ताको आह्वान गरेको छ । के वार्ता हुन्छ ? 

यो अवस्थामा वार्ता हुँदैन । हाम्रो वार्ता गर्ने परिस्थिति छैन ।

कतिबेला परिस्थिति बन्छ ? होला त वार्ता ?

वार्ता जतिबेला हुन्छ, त्यतिबेला हामी एउटा सन्तुलनमा आएका हुन्छौँ ।

दोस्रो कुरा, जसरी सरकारले वार्तावार्ता भनेर भनेको छ, यो वार्ता गर्ने तरिका नै होइन । एकातिर हाम्रा साथीहरूलाई अपहरण शैलीमा हत्कडी लगाउने अर्कोतिर वार्ताको कुरा गर्ने कसरी मेल खान्छ यो ? सरकारले हामीलाई छोएर वार्ताका नाममा छाम्न खोजेको हो । किनकि यहाँ मुद्दा चुनावका बेलाको बनाइएको छ । नेताहरूलाई देशभरी हिरासतमा राखेर कहिले कता र कहिले कता घुमाइएको छ । फेरि वार्ता भनेर हामीलाई सीधै कुनै लिखित चिठीपत्र पनि पठाइएको छैन । त्यसकारण वार्ताको हल्ला चलाएर हामीलाई दमन गर्दै समाप्त पार्ने षडयन्त्र अनुसार सरकार चलेको भनेर हामीले बुझेका छौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार