विषाक्त मदिरा सेवनका कारण मलेसियामा ६ नेपालीको मृत्यु भएको छ। मदिरा सेवनबाट १६ जना गम्भीर बिरामी परेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। मलेसियाको सेलांगोर राज्यका विभिन्न स्थानमा सोमबार विषादी मदिरा सेवनबाट बिरामी भएका १६ जना नेपालीको भने अस्पतालमा उपचार भइरहेको राजदूतावासको विज्ञप्तिमा जनाएको छ।
मृत्यु हुनेमा धादिङको बसेरी- ३ का मिमबहादुर घले, रुपन्देही मसिना-६ का रामकुमार यादव, डडेल्धुरा अमरगढी-५ का विशाल बुढाथोकी, सुनसरी पश्चिमकुसाहा ९ का संजय उराव, इलाम सिद्धिथुम्का-९का बलबहादुर कुलुंग र पहिचान खुल्न नसकेका आइतसिंह गोले रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
पोष्टमार्टम तथा आवश्यक अनुसन्धान प्रकिया सकिनासाथ मृतकका शव सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन पहल भइरहेको दूतावासले जनाएको छ।
उपचारका क्रममा अस्पतालमा रहेकामा संखुवासभा सिद्धकाली-४ का लुंगनाथ मगर,सिन्धुली रानीचुरी-५ का जितबहादुर माझी,बर्दिया मैनापोखर- ३ का प्रविन थारु, सुनसरी महेन्द्रनगर- ६ का दुर्गाबहादुर राई, रोल्पा रांगसी- ४ का भागीमान डागी, बारा रघुनाथपु- ६ का राधेश्याम बैठा, रुपेन्देही फरेना- ७ का रामचन्द्र लोध र गोरखा च्यांगली- २ का लोकबहादुर बराम रहेका छन्।
त्यस्तै सर्लाही ढुंग्रेखला-८ का रिखा मान स्याङतान, ठेगाना नखुलेका सरु मगर, नवलपरासी देउराली- ८ का दुर्गासिंह राना, ठेगाना नखुलेका सुकुवल घिसिङ, राजेश कुमार, बिमल कार्की, पाँचथर चोकामागु- ६का सेतवीर तुम्बाप्पो, मोरङ बाबियाबिर्ता-३ का जम्बिरलाल झाँगड अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे मलेसियन प्रहरी अनुसन्धान सुरु गरेको छ। मलेसियामा नेपाली निम्नस्तरका र असुरक्षित मदिरा अत्यधिक सेवनका कारण मृत्यु हुने गरेको दूतावासले जनाएको छ।
मादक पदार्थ सेवनका कारण अन्य दु:खद घटना पनि यस अघि हुने गरेका थिए। तर ठूलो संख्यामा हताहति भएको भने यो पहिलो घटना हो। राजदूतावासले स्वास्थ्य र सुरक्षामा सतर्क रहन समेत मलेसियामा रहेका नेपालीलाई आहृवान गरेको छ। annapurna post







