माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे ।

खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र समाजवादी निर्माणका विरुद्धको अभियानलाई तीव्रता दिँदै पुँजीवाद पुनस्र्थापनाको प्रक्रियालाई तीव्र बनाइयो । चीनमा भएको प्रतिक्रान्तिप्रति कमरेड भक्तबहादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको नेकपा (चोथो महाधिवेशन) ले सही निर्णय गर्दै चीनमा प्रतिक्रिान्ति भएको घोषणा गर्यो  र पछि कमरेड किरणको नेतृत्वमा  गठित नेकपा (मशाल) ले पनि यसै निर्णयलाई निरन्तरता दियो ।

चीनमा पुँजीवादको स्थापना र क्रान्तिकारीहरूको दायित्वका बारेमा  ‘रिम’ ले गरेको निर्णयप्रति संसारभरिका माओवादी क्रान्तिकारीहरूले ऐक्यबद्धता जनाए ।आफूलाई क्रान्तिकारी भन्नेहरूसमेत चीनप्रतिको धारणामा प्रस्ट नभएको, चीनलाई अझै समाजवादी मानिरहेको अवस्थामा चिनियाँ पुँजीवादी सत्ताको चरित्र, यसको विश्वव्यापी भूमिका र भूमण्डलीकृत प्रभुत्वसम्बन्धी धारणालाई लिएर विश्वका माओवादी क्रान्तिकारीहरूले आफ्नो अध्ययनलाई त्यसतर्फ केन्द्रित गरे ।

एन.बि टर्नरको पुस्तक ‘इज चाइना इम्पेरियलिस्ट कन्ट्री ? कन्सिडरेसन एनड इभिडेन्स’ यसैको उपज थियो । यसमा चीन नवसाम्राज्यवादका रूपमा विकसित भएको कुरा तथ्य र तथ्याङ्कसहित पुष्टि गरिएको छ ।  विविध कारणवस ‘रिम’ विघटनको स्थितिमा पुगेपछि नयाँ किसिमले क्रान्तिकारीहरूको केन्द्र निर्माणमा लागेका पार्टी, समूह र मञ्चहरूले पनि चीन पुँजीवादी मुलुक मात्र नभएर यो अब सामाजिक साम्राज्यवादमा फेरिएको कुरालाई मे दिवसको सन्दर्भ पारेर सार्वजनिक गरे । यसमा नेपालका तर्फबाट ऋषिराज बरालको संयोजकत्वमा गठित ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ ले सहभागिता जनाएको छ ।

विश्वमा जनयुद्ध चलाइरहेका भारत, फिलिपिन्स र टर्कीका माओवादी पार्टीहरूले पार्टीगत रूपमै चीन सामाजिक साम्राज्यवादमा फेरिएको निर्णय गरेर दस्ताबेजीकरण गरेका छन् । नक्सलबाडी विद्रोहको ५० औँ वर्षगाँठका सन्दर्भमा भाकपा (माओवादी) ले तेलगुमा ‘चिनियाँ सामाजिक साम्राज्यवाद’ शीर्षकमा एउटा लामो दस्ताबेज प्रकाशित गरेको थियो । नक्सलबाडी विद्रोहको ५० औँ वर्षगाँठका सन्दर्भमा भाकपा (माओवादी) ले  गत साल प्रकाशित गरेको महत्वपूर्ण प्रकाशन  ‘पिपुल्स वार’ को एउटा दस्ताबेजमा चिनियाँ सामाजिक साम्राज्यवादका सम्बन्धमा यसो भनिएको छ :

”अहिलेसम्मको महाशक्ति अमेरिकी साम्राज्यवाद आफ्नो स्थिति सुदृढ बनाउन प्रयासरत छ । रूसी साम्राज्यवाद आफ्नो प्रभावक्षेत्रलाई कायम राख्न प्रयासरत छ । चीन साम्राज्यवादी मुलुकका रूपमा विकसित भएको छ र विश्वको पुनर्विभाजनका लागि गम्भीर प्रयास गरिरहेको छ । त्यसकारण अमेरिकी महाशक्तिसित यसको अन्तर्विरोध चर्केको छ । विश्वको पुनर्विभाजनका लागि अमेरिका र चीनबीच चर्केको अन्तर्विरोधका कारण भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।”

पहिले तेलगुमा प्रकाशित सो दस्ताबेज अहिले पार्टीं स्थापना दिवसका सन्दर्भमा हिन्दी तथा अङ्ग्रेरजीमा पनि प्रकाशित गरिएको छ । नौवटा शीर्षकलाई ७२ पृष्टमा समेटिएको यो सो दस्ताबेजको पहिलो शीर्षक १९४९ देखि १९७६ रहेको छ ।  सो पुस्तकमा “चीनले आफूलाई भूमण्डलीकृत पुँजीवादी-साम्राज्यवादी व्यवस्थामा सामेल गरेको” भन्दै उसलाई “विश्वभरिका श्रवजीवी वर्गको आन्दोलनको दुस्मन” भनिएको छ । दस्ताबेजमा अन्य राष्ट्रलाई हातहतियारको विक्री, अन्य मुलुकको प्राकृतिक स्रोतसाधनमाथि दोहन, अन्य मुलुकमाथि पुँजीवादी राजनीतिक हस्तक्षेप गर्दै आफू अनुकूलको व्यवस्था लाद्न खोज्ने प्रवृत्ति उसका साम्राज्यवादी प्रवृत्ति हुन भनिएको छ ।

दस्ताबेजमा चीनले अहिले अघि सारेको ‘वान बेल्ट वान रोड’ को सन्दर्भको पनि चर्चा गरिएको छ । त्यसै गरी चीनलाई “अमेरिकी साम्राज्यवादसित भूमण्डलीकृत साम्राज्यवादी प्रतिस्पर्धा गरिरहेको” मुलुक भनिएको छ ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार