गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले निर्मलाको कपडाहरु संरक्षण नगरेको भेटिएको बताए । पन्तका कपडाहरु जलाएको पाइएको भन्दै उनले अघि भने, ‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको अनलाइनखबरलाई बताए । ‘दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाउन लगाएको थियो । मुचुल्कामा मेरो नाममा कसले औंठाछाप लगायो मलाई थाहा छैन ।’

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

छानविन समितिले प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ उनले भने, छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’

प्रहरीको इमान्दारितामा प्रश्न नगरौं

गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा प्रश्न नगर्न आग्रह गरेका छन् । बलात्कार तथा हत्याका थुप्रै घटनाका अभियुक्त पक्राउ परेको भन्दै उनले भने, ‘सरकार र प्रहरीको इमान्दारितामा शंका गर्ने ठाउँ छैन । प्रहरी प्रशासनमाथि अन्याय हुन्छ । परिणाम नआएकाले क्षमतामा शंका गर्ने ठाउँ भने छ ।’ onlinekhabar

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार