
क्रान्तिकारी पत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगी ’राजकुमार‘ले पार्टी र संगठनको कारवाहीमा परिसकेका व्यक्तिले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।
एक प्रेस नाेट जारी गर्दै केन्द्रीय सदस्य योगीले संगठनले आफ्नो अभियान तिब्र पारिरहेका बेला केही गलत र संगठन तथा मातृ पार्टी नेकपाको कारवाहीमा परिसकेका व्यक्तिले छुट्टै संगठन बनाएको भनेर भ्रम फैलाएको आरोप समेत लगाउनुभएको छ ।
उनले डिल्लीराज रावतको अध्यक्षमा संगठन बनेको र आफूलाई केन्द्रीय सदस्य भन्दै नाम राखेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा उनले भने,‘संगठनका अध्यक्ष प्रकाश डुम्रेसहितको पदाधिकारी टोली अभियानमा लागिरहेका बेला काठमाण्डौमा केही झुण्डले संगठनलाई बदनाम गर्ने प्रयास गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछु ।’
केन्द्रीय सदस्य योगीले संगठन र मातृ पार्टी नेकपाको निर्णयप्रति आफू प्रतिबद्ध नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘ त्यसैले डिल्लीराज रावत अध्यक्ष रहेको संगठन आधिकारिक नरहेको र म त्यसमा नरहेको प्रष्ट पार्दछु ।’ उनले मातृ पार्टीको निर्णय अनुसार प्रकाश डुम्रेको अध्यक्ष रहेको टिम नै आधिकारिक रहेकोमा प्रष्ट रहेको र आफू त्यसकै केन्द्रीय सदस्य रहेको योगीले जनाएका छन् ।








