
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले भारतकाे राेहबरमा प्रचण्डपथकाे संश्लेषण भएकाे खुलासा गरेका छन् ।
०५७ सालकाे दाेस्राे राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथकाे संश्लेषण हुनुमा भारतकाे भूमिका रहेकाे महासचिव विप्लवले दाबी गरेका छन् । अाफ्नाे प्रकाशाेन्मुख किताब महापतन मा विप्लवले भारतद्धारा प्रचण्ड बाबुरामकाे मिलन गराउन पनि प्रचण्डपथकाे संश्लेषण गरेकाे जिकिर गरेका छन् ।
०५५ सालकाे तत्कालीन नेकपा माअाेवादीकाे चाैथाे विस्तारित बैठकमा नेतृत्व केन्द्रीकरणकाे प्रश्नमा प्रचण्ड र बाबुरामबीच ठूलाे मतभिन्नता भएकाे थियाे । त्यही मतभिन्नतालार्इ हल गरेर ०५७ काे दाेस्राे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथकाे संश्लेषण भएकाे थियाे ।
भारतमा भएकाे दाेस्राे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथकाे संश्लेषण भएकाे थियाे । याे संश्लेषण हुनुमा भारतकाे राेहबर भएकाे निचाेड महासचिव विप्लवकाे रहेकाे छ । जहाँ त्याे बेला बादललार्इ ठीक पार्न प्रचण्ड र बाबुरामकाे गठजाेड भएकाे विप्लवकाे संश्लेषण रहेकाे छ ।
‘महापतन’ नामक किताबकाे ‘प्रचण्ड र बादलबीचकाे संघर्ष’ शीर्षकमा विप्लवले लेखेकाे लेखकाे हेर्नुस् सानाे अंश –
कारबाहीमा परेको तीन वर्ष भइसकेको थियो, पाँचौँ विस्तारित बैठकपछि जतिबेला बाबुराम–प्रचण्डको सङ्घर्ष चर्केको थियो, बादललाई कारबाही फुकुवा भयो । पम्फालाई भने अझै परीक्षणमा राखियो । बादल पार्टीमा फर्केपछि क्षेत्रीय ब्युरोबाट काम थाले तर प्रचण्डलाई बादलको तनाव जहिले पनि रह्यो । घरि देशभित्र, घरि देशबाहिर लतार्ने कार्य चलिरह्यो । बादलले पनि आफ्ना कुरा माथिल्लो स्तरमा राख्न छोडेनन् । बाबुरामसँगको सङ्घर्षले गर्दा बादललाई प्रचण्डसँग सहकार्यमा फर्किन केही सजिलो भयो तर भारतको रोहबरमा प्रचण्ड–बाबुरामको एकता भएपछि ‘प्रचण्डपथ’ को संश्लेषण भयो । रमाइलो संयोग र व्यवस्थापन भनौँ, ‘प्रचण्डपथ’ को गाँठो बादलले पारेका थिए । त्यस बेला अरू शब्दहरूमा संश्लेषण गर्ने बहस थियो । कसैले प्रचण्डद्वारा नेतृत्व गरिएको पार्टी विचार, कसैले पार्टीको निर्देशक विचार, कसैले प्रचण्ड विचार, कसैले प्रचण्ड विचारधाराको बहस गरिरहेका थिए तर यी सबै शब्दमा प्रचण्ड आफैँ जोडिएका थिए । नयाँ पिँढीले संश्लेषणलाई आवश्यक ठानेको थियो र त्यो सही पनि हुन्थ्यो तर शब्द के भन्ने भने फरक विषय थियो । पछि थाहा भयो, प्रायः पुराना पिँढीका नेताहरू यसखालको संश्लेषणमा सहमत थिएनन् तर भन्ने आँट कसैको थिएन, बरु मुखमा बुट्टा भर्नमै समय खर्चिने भयो । यो कुरा पछि पार्टी फुटेपछि देव गुरुङले खोलेका थिए– ‘प्रचण्डपथ’ संश्लेषण गर्दा त ‘म र सीपी गजुरेल अर्को कोठामा गएर सिरकले टाउको छोपेर रोयौँ । पार्टी समाप्त भयो भन्यौँ भनेर ।’ उनले कतिसम्म त्रास भएको बताए भने त्यहाँ पनि कसैले सुन्लान् कि भन्ने चिन्ता थियो, बिचराजस्तो !







