बर्दिवास- महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी विद्यालयबाट निष्काशित भएका छन्।
भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्काशन गरिएका हुन्। कक्षा ७ का मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले निष्काशन गरेको बताएका छन्।
आफूलाई विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्काशन गरिएको पीडितको भनाइ छ। विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्काशन गरिएको पीडितले बताएका छन्।
मुकेशका आमाबाबुले पनि आपूहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन्। पिता हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताएका छन्।
असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको उनका पिताको भनाइ छ। विद्यालयबाट निष्काशित मुकेश आफूमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन्। प्रअ यादवले फोहर सफा गर्न आफूसमेत सरीक रहेको बताएका छन्।
DC Nepal







