नेकपा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले सरकारले वार्तारूपी धराप थालेकाले त्यसप्रकारको षड्यन्त्र असफल पार्ने बताएका छन् । ४५ दिने सङ्गठन विस्तार, सुदृढीकरण तथा विस्तार अभियान समापन तथा वैचारिक राजनीतिक प्रशिक्षणका क्रममा मोरङमा आइतबार उक्त कुरा बताएका हुन् ।

‘ओली–प्रचण्ड सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान गर्न नसक्ने भएकाले वैज्ञानिक समाजवादी क्रान्ति नै समाधान भएको’ उनले दाबी गरे । कार्यक्रमको प्रमुख अतिथि रहेका विरहीले ‘दमन र षड्यन्त्र नरोकिने जनप्रतिरोधको बाढीले दलालहरू बढारिने’ दाबी गरे ।
सहिदहरूप्रति १ मिनेट श्रद्धाञ्जली गरिएको उक्त कार्यक्रममा नवराज, युगेन, चट्टान मनु, छिरिङ, सङ्गीत, क्षितिज, माधव, नरेशले आआफ्नो कार्यक्षेत्र र अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रमुख अतिथिले प्रश्न र जिज्ञासा प्रस्ट पारेपछि कमला, आशा राई, अमृत राई र विकासले अनुभूति मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा जेल हिरासतबाट मुक्त भएका आस्थाका बन्दीहरू कमला लिम्बू, उदय राई, बुद्धि माझी, सुरेश राई, गणेश निरौला, विज्ञान ओझा र मोहन कार्कीलाई अभिनन्दन गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता ब्युरो संयोजक पुष्करले गरेका थिए भने स्वागत मन्तव्य देव गुरुङ र सञ्चालन प्रज्वलले गरेका थिए ।
यसैगरी, जनकपुरमा नेकपाको अभियान नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान साथै पूर्वाञ्चलस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सिन्धुली जिल्लाको हरिहर गाउँपालिका वडा नम्बर ६ मा असोज १५ गते समापन भएको छ ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य जनकपुरब्युरो इन्चार्ज सन्देश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रणवीर, अतिथिहरू केन्द्रीय सदस्य रवि अधिकारी, हितमान, निर्मल स्कुलिङ विभाग सदस्य गति, टोलीका प्रमुखहरू राजु कार्की, कुमार पौडेल, शरद, रूपेश, अमर, जोखिम हुनुहुन्थ्यो । सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियोे । साथै अभियानका क्रममा गिरफ्तारीमा परी २० दिन हिरासतपछि रिहा भएकाहरू सिराहा जिल्लाका सेक्रेटरी साहस, ग्याना देवी, जानकी, चुनचुनलाई प्रमुख अतिथि र अतिथिले दोसल्ला ओढाएर सम्मान गरेका थिए । अहिले पनि तीनजना नेता–कार्यकर्ता हिरासतमा रहेको बताइएको छे ।
सिराहा जिल्लामा टोली नम्बर ३ का उपप्रमुख ब्युरो सदस्य शशी राई, एम लिम्बू, सर्लाहीमा रामपुकार रामलाई झूट्टा मुद्दा लगाई हिरासतमा राखिएको छ । रामपुकारलाई धरौटीमा रिहा गरेलगत्तै अदालतपरिसरबाटै पुनः पक्राउ गरिएको हो ।
अनुभूती रिपोर्टिङ मन्तव्य अमर, रूपेश, जोखिम, गति, राजु कार्की, शरद, केन्द्रीय सदस्य हितमान र रवि अधिकारीले आफूहरू ४५ दिनसम्म जनता र सहिदहरूको घरआँगनमा जाँदा जनताले माया गरेको, सहिदहरूका आफन्त, घाइते–अपाङ्गहरूका आँखामा खुसी देखेको र सहिदहरूको अधुरो सपना एकीकृत जनक्रान्तिको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि रणवीरले यो अभियानले दलाल फासिवादी सरकारलाई पछि हट्न बाध्य पारेको बताए । अभियान प्रभावकारी रहेको मधेस–पहाड एकीकृत गर्न सफल पार्न एकीकृत अभियान अघि बढेको नेता रणवीरले बताए । नेपाल कम्युनिस्ट पार्टीको वैचारिक कुरा राख्न, जनताको पछि लाग्न र प्रचारप्रसार गर्न सफल भएको छ ।







