अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्ला अस्पताल अर्घाखाँचीमा केही दिनयता बिरामीको संख्या ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार भइरहेको छ। अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी भाइरलका विरामी उपचारका लागि आउने गरेका छन्। १५ शय्याको अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार गरीरहेको छ।
बेडमा बिरामी राख्ने ठाउँ नभएपछि अस्पतालभित्र बाटो, भुइँ जहाँ खाली हुन्छ त्यही राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका प्रमुख निर्देशक जगतनाथ तिवारीले बताए। उनका अनुसार बिरामीको संख्या बढेपछि व्यवस्थापन गर्न हम्मे परेको छ। कतिपय बिरामी आफैंले ओढ्ने ओछ्याउने ल्याएर अस्पतालका बाटो खाली ठाउँमा सुतेर उपचार गराइ रहेका छन्।
अस्पतालको आकस्मिकदेखि जनरल बेड सबै भाइरलका बिरामीले भरिएको छ। वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन, बाढीको फोहर, दुर्गन्ध आदि कारणले भाइरलको प्रकोप फैलिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ।
५० शय्या नारा मात्रै
अर्घाखाँची जिल्ला अस्पताललाई ५० शय्यासहित सुविधा सम्पन्न बनाउने नारा केवल नारामै सिमित भएको छ। अधिकांश जनप्रतिनिधिले चुनावका बेला यही नारा लगाएका थिए। आधादर्जन नेता पटक–पटक मन्त्रि पनि बने। तर अस्पतालको भौतिक संरचना जस्ताको तस्तै छ। बेड अभावमा बिरामीलाई भुइमै राखेर उपचार गराउन पर्ने बाध्यता हटेको छैन।
२०४५ सालमा निर्माण भएको १५ शय्याको अस्पताल ३० बर्ष बित्दा पनि उस्तै अवस्थामा छ। जिल्लाका नागरिक सामान्य बिरामी हुँदा पनि बुटवल जानु पर्ने अवस्था अझै हटेको छैन। सामान्य विरामी हुँदा पनि यस अस्पतालमा उपचार हुन नसक्नु स्थानीयका लागि दुखको विषय भएको सन्धिखर्क नगरपालिका–१ की पार्वता भुसालले बताइन्।
गुल्मी, प्युठान, कपिलबस्तु, नबलपरासीजस्ता छिमेकी जिल्लामा ५० शय्याको अस्पताल निर्माण हुँदा अर्घाखाँचीमा भने नेतृत्व तहबाट सहयोग नहुँदा मन्त्रालयमा फाइल रोकिएको छ। भबन नहुँदा बिरामीलाई भुइँमै राखेर उपचार गराउनु पर्ने र सामान्य अबस्थाको विरामीलाई ब्लड बैंक नहुँदा बाहिर रेफर गर्नुपर्ने अवस्था रहेकोे जिल्ला स्वास्थ्य प्रमुख जगन्नाथ तिवारीको गुनासो छ। ‘अस्पताल सुधारमा सबै पक्षबाट पहल भएमा जिल्लाबाट अन्यत्र रेफर गर्नु पर्ने थिएन’, उनले भने।
जिल्लाका झन्डै २ लाख नागरिक सामान्य औषधी उपचार गर्न पनि बुटवल, तानसेन, चितवन र काठमाडौं जानुपर्ने अवस्था छ। चुनावका बेला आफुले ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउने नारा बनाएको स्मरण गर्दै जिल्ला अस्पताललाइ एक बर्ष भित्र सुविधा सम्पन्न बनाउने प्रदेश सांसद चेतनारायण आचार्यले प्रतिवद्धता जनाएका छन्। तर उनको भनाइमा स्थानीयले विश्वास गर्न सकेका छैनन्। यसअघि पनि धेरै नेताले यस्ता आश्वासन दिए पनि काम हुन सकेको छैन।annapurnapost







