
सत्ताधारी नेकपाका नेता जर्नादन शर्मा ‘प्रभाकर’ले पार्टी एकता प्रक्रिया लम्बिएकोमा पार्टीका दुर्इ अध्यक्षकाे कार्यशैलीकाे खुलेअाम अालाेचना गरेका छन् ।
पार्टी एकीकरणकाे मुख्य सूत्राधारका रूपमा चिनिने शर्माले बनेपामा आयोजित एक कार्यक्रममा पार्टी एकता प्रक्रिया लम्बिएकै कारण सरकार पार्टीविहीन जस्तो भएको बताए ।
‘मैले तीन दिनमा सक्ने काम दुई अध्यक्षले वर्ष वित्न लाग्दा किन सक्नु भएन ?’ उनले भने, ‘सरकार पार्टीविहीन भएको छ, सरकारको पक्षमा बोल्ने कि नबोल्ने अन्यौलमा छौं ।’
सरकारले रणनीतिक कुरा मात्रै गरेको र जनतालाई तत्काल सेवा सुविधा दिनेतर्फ नलागेको भन्दै असन्तुष्टि जनाए ।
सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गरे । ‘विभिन्न व्यवस्थाविरुद्ध हामी लडेर यहाँ सम्म आउँदा फोहोरी सत्ता समालेकाहरुको विरोध गरिरहेँ’ उनले भने, ‘अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’







