अमेरिका विरुद्धको नीति अपनाउँदै भारतले ईरानसँग तेल र रुससँग हतियार खरिद गर्ने निर्णय गरेको छ । यस वापद् अमेरिकाले भारतमाथि प्रतिबन्ध जारी गर्ने जोखिम भएपनि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति पुटिनसँगको भेटपछि यस्तो तय गरेका हुन् ।

शुक्रबार मात्र पुटिनले नयाँ दिल्लीलाई अरबौँ डलरको एस–४०० मिसाइल प्रणाली प्रदान गर्ने निश्चित भएको बताएका हुन् । दुई दिने भारत भ्रमणका क्रमा पुटिन र मोदीबीच यसै विषयमा महत्वपूर्ण छलफल भएको बताइएको थियो जसमा दुवै देशले एकअर्का सँगको नीतिगत् र विशेष सम्बन्धको खुलेर प्रशंसा गरेका हुन् । तर यसअघि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउँदै कुनैपनि देशले उनीहरुसँग हतियार खरिद गरेमा सो राष्ट्र पनि कारबााहीको शिकार हुने चेतावनी दिएको थियो जसमा भारतले भने आफूसँगको कूटनीतिक सम्बन्धका कारण छुट पाउने अपेक्षा गरिरहेको छ ।
तर ट्रम्प प्रशासन भारतको यस निर्णय विरुद्ध कडा प्रतिक्रिया दिँदै आएको छ । यसअघि पनि रुससँग हतियार खरिद गरेकै आरोपमा अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएपछि उनीहरुबीचको विवादले झन ठूलो रुप लिएको थियो ।
त्यसैगरी अर्कोतर्फ ईरान आणविक सम्झौताबाट बाहिरिएपछि अमेरिकाले ईरानमाथि पनि आर्थिक प्रतिबन्ध जारी गरेको हो । यसमा अमेरिकाका पुराना मित्रराष्ट्र फ्रान्स, जर्मनी र बेलायतले समेत असहमति जनाएपछि अमेरिकाले भने आफ्नो अडान नछाड्ने बताएको हो । यस्तोमा अमेरिकाले ईरानसँगको व्यापारिक सम्बन्ध अन्त्य गर्न सबैलाई दबाब दिइरहेको छ । तर भारतले भने ट्रम्प प्रशासन विरुद्ध निर्णय गर्दै ईरानसँगको तेल कारोबार नरोक्ने बताएको हो ।
शुक्रबार नै यसबारे आधिकारिक जानकारी दिँदै भारतले ईरानबाट १२ लाख डलर बराबरको कच्चा तेल आयात गर्ने योजना सार्वजानिक गरेको छ । यसअघि ईरानका विदेश मन्त्री जावेद जरिफले पनि भारतबारे आफू सुनिश्चित रहेको बताएका थिए ।
यता ट्रम्पको सो नीतिले अन्तराष्ट्रिय समर्थन पाउन असफल भइरहेकाले पनि भारत आफ्नो निर्णयबाट पछि नहटिरहेको बताइएको छ । पछिल्लो हप्ता मात्र संयुक्त राष्ट्र संघले पनि अमेरिकालाई ईरानमा आपत्कालिन् वस्तुहरुको निर्यातमाथि रोक नलगाउन आग्रह गरेको थियो । वास्तवमा अमेरिका र भारतबीच पनि पछिल्लो महिना मात्र प्रतिरक्षा सम्बन्धि नयाँ सम्झौता भएको थियो । जसकारण यिनीहरुबीच समस्या नहुने अनुमान गरिएको हो ।
तर भारत रुस र ईरानसँग पनि उत्तिकै संलग्न रहँदै आएको छ । यसकारण भारतको चुनौतिले अमेरिका नै दबाबमा आइरहेको बताइएको हो ।







