
विप्लव नेतृत्वकाे नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सामना जनसंगीत अभियान प्रस्तुत गरेको छ ।
देशभर सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउँदै आएको सामना परिवारले काठमाडौँमा पनि २१ गते आइतबारदेखि बेजोड प्रस्तुति प्रदर्शन गरिरहेको छ । सामनाले २५ गतेसम्म काठमाडाैं उपत्यकामा जनसंगीत अभियान प्रस्तुत गर्नेछ ।
‘शान्ति समृद्धि र समानताका लागि वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवादका लागि सामना जनसङ्गीत अभियान’ मूल नाराका साथ सामना परिवारले विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको हो ।
पहिलो दिन आइतबार जनवादी सांस्कृतिक आन्दोलनका अग्रजहरुको साथमा सामनाका कलाकारहरुले कार्यक्रम प्रस्तुत गरे । पहिलो दिनको कार्यक्रममा जनवादी कलाकारहरु रायन, जेबी टुहुरे, लक्ष्मी गुरुङ विद्रोहीलगायत अतिथि कलाकारले जनवादी गीत प्रस्तुत गरे । ६ वटा नृत्य, ७ वटा गीत, अपेरा र नाटक प्रस्तुत गरिएको थियो ।
सरकारका गतिविधिलाई कलाको माध्यमबाट खबरदारी गर्न कार्यक्रम आयोजना गरिएको महासङ्घले जनाएको छ । सोमबारको कार्यक्रममा जनवादी गायिका निर्मला घिसिङलगायतले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा करिब एक दर्जन गीत–नृत्य, नाटक र अपेरा प्रस्तुत गरिएको थियो ।
हिरासत बसेर रिहाई भएका नेकपाका पोलिटब्युरो सदस्यहरु ओमप्रकाश पुन, कृष्णबहादुर धमला, मोहन कार्की, केन्द्रीय सदस्य आजाद लगायतलाई केन्द्रीय सदस्य मकर गुरुङलगायतले सम्मान गरेका थिए ।
आइतबार नेकपाका पोलिटब्युरो सदस्य पदम राई विकास र सोमबार अर्का पोलिटब्युरो सदस्य ओम पुनलगायत नेताहरूले सामना कार्यक्रमकाे अवलाेकन गरेका थिए । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य पनि उपस्थित भएर सामनाको प्रस्तुति अवलोकन गरेका थिए ।

सामना जनसङ्गीत अभियान

सामना जनसङ्गीत अभियान








