अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका २ सय ४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ।

कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो।

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १३ को कसुरमा हदैसम्मको जरिवाना र कैद सजाय माग गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, बागमतीका कर्मचारीले आर्थिक लाभ लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन् भन्ने उजुरीमा अनुसन्धान गर्दा यी कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलेको आयोगले जनाएको छ।

‘अनुसन्धान सिलसिलामा यी कार्यालयबाट गत माघ १ देखि फागुन २५ गतेसम्म कार, जिप, डेलीभरी भ्यानको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराइ २०४ वटा सवारी चालक अनुमतिपत्रहरु जारी गरिसकेको पाइयो,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।setopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार