नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रचण्डहरूले हिजाे जसलार्इ दलाल नेता भनेर कांग्रेस र एमालेलार्इ अाराेप लगाउने गर्थे अाज उनीहरूकाे टाङमुनि छिर्न पुगेकाे बताएका छन् ।

नेपाली समाज अहिले पनि जहाँकाे त्यँही रहेकाे भन्दै विप्लवले दलाल नेताहरूले हिजाे जनतालार्इ जे भनेर ठगेका थिए अाज कुनै पनि जनताकाे समस्या समाधान नभएकाे तर्क गरेका छन् ।
विप्लवले यो राज्यप्रणाली दलाल पुँजीवादी भएको उल्लेख गर्दै भनेका छन्, ‘१३ वर्षअगाडिका प्रचण्डका तर्क हेर्नुस् न । त्यसबेला एमालेका केपी वली, माधव नेपाल, झलनाथ खनाल र काङ्ग्रेसका नेताहरूले बहुदलीय प्रजातन्त्र र समृद्धिको प्रचार गर्दा उनले के भनेका थिए ? उनले तिनीहरूलाई साम्राज्यवादका पिट्ठू, पाले, नोकर, दलाल, जनतालाई झुक्याउने फटाहा भनेका थिए, हैन र ! त्यतिबेला उनी एमाले, काङ्ग्रेसलाई बढारेर फाल्नुपर्ने तर्क गर्दैनथे र ? समृद्धिका लागि सामन्ती, दलालहरूको सत्तालाई जरैबाट फाल्नुपर्छ भन्दैन थे र ! अनि उनै नेता, उही सत्तामा कसरी जनताको समृद्धि हुन्छ ? यो सबै उनले आफ्नो पश्चगमन, प्रतिगमन र पतनलाई लाज छोप्ने खोल हाल्न खोजेको मात्र हो । यसमा अब त कसैलाई विश्वास पनि छैन । के निश्चित हो भने दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना भयो भनेचाहिँ साँच्चिकै समृद्धि हुन्छ । यो झूटो आश्वासन होइन, इतिहाससिद्ध तथ्य हो ।’
आफ्नो पार्टीले जनता र देशकाे लागि काम गरिरहेकाे भन्दै महासचिव विप्लवले अाफुहरू जनताका बीचमा रहेकाे कुरालार्इ प्रतिक्रियावादीहरूले भूमिगत भनेर दुश्प्रचार गर्ने गरेकाे छन् ।
महासचिव विप्लवले भनेका छन्, ‘क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा रहने, बस्ने कुरालाई केको भूमिगत ! भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन्, गद्दारी गरेका छन्, वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन् । ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् । हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।’
विप्लवले वर्तमान परिस्थिति र सरकारको चरित्र चित्रण गर्दै भनेका छन्, ‘राष्ट्रघात, भ्रष्टाचार र जनअधिकारमाथि तानाशाही दमन, तस्करी, बलात्कार र महँगी अत्यधिक मौलाएको छ । यो कैयौँ अर्थमा राजतन्त्रको समयमा भन्दा पनि खराब र खतरनाक छ । जस्तो कि सिक्किमलाई यस्तै दलालहरूले बेचेर खाएका थिए ! तर आज पुनः दलाल पुँजीवादी सत्ताका विरुद्ध नयाँ क्रान्तिको प्रक्रिया अगाडि बढिसकेकाले नेपाललाई सिक्किम हुन दिइनेछैन ।’
नेकपाका महासचिव विप्लवले भनेका छन्, ‘अबको क्रान्तिले सबै कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक, देशभक्त, राष्ट्रिय शक्तिहरूलाई एकताबद्ध गर्न सक्छ । सबै जनतालाई अधिकार सम्पन्न र देशलाई स्वाधीन बनाउन सक्दछ ।’ ‘रेकर्ड नेपाल डटकम’ का लागि अङ्ग्रेजी भाषामा लिइएको महासचिव विप्लवको उक्त अन्तर्वार्ताको पूर्ण पाठ हाम्रो अनलाइन ईरातोखबरडटकममा नेपाली भाषामा छिट्टै प्रकाशित हुनेछ ।







