सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने बचन दिएपछि सोमबार काठमाडौँ आएका राउटेका राजासहितको टोली शनिबार प्रधानमन्त्रीलाई नभेटी फर्किएको हो।
प्रधानमन्त्री ओलीले पटक–पटक राउटेलाई भेट्ने समय तोके पनि अन्तिममा व्यस्त भएकाले भेट्न नसकिने बताएपछि राउटेको टोली निरास भएको छ। दसैँ खर्च माग्न र आफ्ना समुदायका माग लिएर राउटेका राजासहित टोली आएको थियो।
प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएपछि राउटेका मुखियाले टोलीमै रहेका अरुसँग गुनासो गरे, ‘यिनी प्रधानमन्त्री त कामै नलाग्दा रहेछन्, अर्का प्रधानमन्त्री बनाउँ।’
पहिले नेकपाका नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला आउँदा आफूहरुलाई राम्रो गरेको तर अहिलेका प्रधानमन्त्रीले वास्तै नगरेको गुनासो गरेका छन्।
राउटेका मुखियाले माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उनीहरुलाई लिन थानकोटसम्म गाडी पठाएको र आफैँ उपस्थित भएर खादा लगाइदिएको सम्झिएका छन्। राउटेले नेता नेपाललाई नै प्रधानमन्त्री बनाउन माग गरेका छन्।
राउटेलाई नभेटेपनि प्रधानमन्त्री कार्यालयले उनीहरुका माग सम्बोधन गर्ने बचन दिएको राउटेसँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले जानकारी दिइन्।
प्रधानमन्त्री कार्यालयले आइतबार चेक दिने तयारी गरेको र त्यो रकम पठाएर उनीहरुलाई सुर्खेतबाटै नगद दिने उनले बताइन्। उनीहरुका अन्य माग मन्त्रिपरिषद्बाट निर्णय गर्ने आश्वासन प्रधानमन्त्री कार्यालयले दिएको छ।
राउटेले आफूहरु बसेको ठाउँमा स्वास्थ्य शिविर चलाउन, विद्यालयको व्यवस्था गर्न, सामुदायिक वन र गाउँका मान्छेले दुःख दिएको भन्दै शान्ति सुरक्षाको माग पनि उनीहरुको रहेको छ।
प्रधानमन्त्रीलाई भेटेर यी माग राख्ने उनीहरुको तयारी थियो। राउटेले स्वास्थ्य उपचारको अभावमा धेरै बच्चाहरु मर्ने गरेको उनीहरुको गुनासो छ।
भत्ता बढाइदिन पनि उनीहरु माग गरेका छन्। राउटेले पाउँदै आएको मासिक दुई हजार रुपैयाँ भत्ता ५ हजार पुर्र्याइदिन उनीहरुले माग गरेका छन्।
काठमाडौँ आएका राउटेले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन्। पुनले ५० हजार दिएका छन्।







