काठमाडौं– मीना लामा र श्यामकुमार लामा श्रीमान–श्रीमती मात्रै हैनन्, उनीहरूको नामको अगाडि ‘मानव तस्कर’को ट्याग लागेको थियो । नेपालबाट मावन तस्करी गरेर कुवेतमा ढुक्कले बस्दै आएका लामा दम्पतीले सायदै पत्याएका थिएनन्, कुवेतबाटै आफ्नो हातमा हत्कडी लाग्ने कुरा । तर हुनेहार दैव नटार भनेजस्तै केही समयअघि उनीहरूलाई कुवेत प्रहरीले नै नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइदियो ।

‘लामा दम्पतीलाई हामीले इन्टरपोलमा नोटिस जारी गरेर कुवेत प्रहरीको सहयोगमा पक्राउ गरेका थियौँ’, प्रहरी प्रवक्ता (एसएसपी) शैलेस थापा क्षेत्री भन्छन्, ‘पछिल्लो चार महिना हामीले नेपालका १४ जना नेपालीको डिटेल्स इन्टरपोलको नोटिसमा राखेका छौं, पहिलेको तुलनामा पछिल्लो समय इन्टरपोलको नोटिसमा नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ ।’

एक वर्षअघिको कुरा हो, बर्दिबासको एक होटलमा सिन्धुलीका सिंहलाल थिङले एक युवतीलाई बलात्कार गरे । जबर्जस्ती करणीको जाहेरी बोकेर ती युवती इलाका प्रहरी कार्यालय बर्दिबास पुग्दा सिंहलाल त्रिभुवन विमानस्थलबाट बाहिरिइसकेका थिए । मरिण गाउँपालिका स्थायी घर भएका थिङ केही समयअघि इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ परे ।

नेपालमा अपराध गरी विदेशमा फरार हुने लामा दम्पती र थिङ मात्रै हैनन्, केही समयअघि इन्टरपोल काठमाडौंबाट डिफ्युजन जारी भएका झापा घैलाडुब्बाका सोमनाथ निरौला चीनबाट पक्राउ परेका थिए । निरौलामाथि वैदेशिक रोजगार कसुर गरेको अभियोग थियो ।

माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । जघन्य र ठूला अपराध गरेर देश बाहिर फरार भएकाहरूलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने सक्रियता बढाएपछि पछिल्लो समय अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका हुन् ।

२०७४ पुसमा तुलबहादुर सिंजाली दुबईमा पक्राउ परे । नेपाल प्रहरीले जारी गरेको इन्टरपोल नोटिसका आधारमा दुबई प्रहरीले हत्कडी लगाएका सिंजाली गुण्डा नाइके मनोज पुनका सहयोगी थिए । रुपन्देहीका दुर्गा तिवारी हत्यामा संलग्न सिंजाली अहिले जेलमा छन् ।

पछिल्लो सयम नेपाल प्रहरीको इन्टरपोल शाखाले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भएको अभियोगमा रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र मोहम्मद उस्ताम मियाँ विरुद्ध रेड नोटिस जारी गरेको थियो ।

रमेश उप्रेती ३३ किलो सुन तस्करीका मुख्य नाइके मानिएका चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । रमेश दुबईमा लुकेर बसेको बताइएको थियो । उनी र बेनु श्रेष्ठ पक्राउ परिसकेका छन् ।

त्यस्तै सरकारी छाप दस्तखत कीर्ते गरेर फरार भएका सलबहादुर गुरुङविरुद्ध पनि प्रहरीले रेड नोटिस जारी गरेको छ ।

‘अदालतबाट मुद्दा फैसला भएकाहरूको हकमा रेड कर्नर नोटिस जारी गरिन्छ’, प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्री भन्छन्, ‘अदालतमा मुद्दा दायर गरेपछि वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजी कार्यका लागि पनि रेड नोटिस जारी गरिन्छ ।’

इन्टरपोलमार्फत नोटिस जारी हुनासाथ जुनसुकै देशमा लुकेर बसेका आपराधिक गविधिमा कमी आउँछ र अपराधी पक्राउ पर्ने सम्भावना बढी हुन्छ ।

थरी–थरीका नोटिस, दरबारमार्गका बलात्कारी विरुद्ध डिफ्युजन

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को नेपाल १००औं सदस्य राष्ट्र हो । इन्टरपोलको प्रावधान अनुसार नेपाल प्रहरीले ८ प्रकारका नोटिस जारी गर्ने गरेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार इन्टरपोल काठमाडौंले रेड नोटिस, ब्लु, ग्रिन, ब्ल्याक, यल्लो, ओरेन्ज, पर्पल र ‘इन्टरपोल–युनाइटेड नेसन्स स्पेसल नोटिस’  जारी गर्दै आएको छ ।

मुद्दा फैसला भएका मान्छेहरू पक्राउ गर्न र अदालतबाट वारेन्ट जारी भएकाहरूको हकमा रेड नोटिस जारी हुन्छ । कसैलाई वार्निङ दिनुपरेमा ‘ग्रिन’ नोटिस र डेड बडीको इन्फर्मेसन दिनका लागि ब्ल्याक नोटिस जारी गरिन्छ ।

अदालतबाट वारेन्ट जारी नभए पनि अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस जारी गरिन्छ ।

यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्ने गरेको छ । इन्टरपोल हेडक्वार्टरले विश्वव्यापी प्रहरी सञ्चार प्रणाली आई–२४÷७ मार्फत इन्टरपोलका सबै सदस्यराष्ट्रसँग सूचना अदान प्रदान हुन्छ ।

‘ग्लोबल भिलेजको कारणले संसार नै साँघुरो भएको छ’, प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्री भन्छन्, ‘कुनै एक अपराधीले एउटा देशमा अपराध गरेर अन्यत्र भाग्ने कारण थपिएको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता परेको हो ।’ ratopati

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार