पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीकाे अवसर पारेर एक खतरनाक सन्देश जारी गरेका छन् । उनले देशमा शान्ति, अमन चैन हराएकाे भन्दै त्यसका लागि सबै गंभीर हुनु पर्ने बताएका छन् ।
मंगलबार मात्र भारतबाट नेपाल फर्किएका पूर्व राजा शाहले स्वदेश फर्किएलगत्तै दसैंको शुभकामना सन्देश दिँदै देश ठूलाे संकटबाट अघि बढिरहेकाे टिप्पणी गरेका छन् ।
देश संकटमा परिरहेकाे बेला अब सबैले अात्मसमिक्षा गरेर जाने बेला अाएकाे भन्दै ज्ञानेन्द्रले यतिबेला नेपालीबीचको सामाजिक सदभावका लागि तराई, पहाड र हिमालमाझको एक्यभाव जाेड्नु पर्ने आफ्नो सन्देशमा प्रकट गरेका छन् ।

यस्तो छ पूर्व राजाको शुभकामना सन्देशको पूर्णपाठ-
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ,
विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्यम् आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू सङ्कटमा पर्दै जानु सबै नेपालीका लागि विषद् बनेको छ ।
आज नेपालीबीचको सामाजिक सदभाव मेटिँदैछ भने तराई, पहाड र हिमालमाझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्याङ्कनको घडी आएको छ । आफैंलाई साक्षी राखेर देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ ।







