नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारबाही गरिए ओली सरकार ढल्ने दावी गरेका छन्। पन्तका बलात्कारी एवं हत्यारा सत्तामा रहेका दलकै संरक्षणमा रहेको उनको दावी थियो।
भक्तपुरमा दुईदिन भएको ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) लाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गरिए ओली सरकार ढल्ने सम्भावना देखेको छु। त्यसैले बलात्कारी र हत्यारा सरकारकै संरक्षणमा छ ।’
अध्यक्ष बिजुक्छेले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट तत्कालीन् माओवादी पार्टीकाे सहयोगी हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्। त्यहीं कारण निर्मला बलात्कार र हत्याका मुख्य दोषी विष्टलाई कारबाही गर्न ओली सरकारले हिम्मत नगरेको उनको भनाइ थियो।
‘एसपी विष्ट पूर्व माओवादी सहयोगी हुनुपर्छ। प्रचण्डसँग सम्बन्ध भएका व्यक्ति हुनुपर्छ, अध्यक्ष बिजुक्छेले भने, ‘त्यसैले ओली सरकार उनलाई कारबाही गर्न डराइरहेको छ।’ उनलाई कारबाही अघि बढाउने बित्तिकै तत्कालीन माओवादी केन्द्र सरकारबाट बाहिरिने सम्भावना रहेको उनको दावी थियो।’एसपी विष्टलाई कारबाही गर्नेबित्तिकै प्रचण्ड सरकारबाहिर जानेछन्, अध्यक्ष बिजुक्छेले थपे, ‘अनि ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनेछ। त्यसमा कांग्रेस र मधेसवादी दलहरुले पनि समर्थन गर्ने निश्चित छ। त्यसैले केपी ओली एसपी विष्टलाई कारबाही गर्न तयार छैन।’
उनले निर्मला पन्तका साथी भनिएका बम दिदीबहिनीलाई समेत प्रचण्ड र ओलीले आडभरोषा दिँदै आएको बताए। ‘प्रचण्डको फोटो बम दिदीबहिनीसँग खिचिएको छ, उनले भने, ‘यदि यो फोटो निर्मलाको बलात्कार र हत्यापछिको हो भने यसमा प्रचण्ड र ओली दोषी हुनेछन्।’
अध्यक्ष बिजुक्छेले निर्मला बलात्कार र हत्या घटनाको सुरुदेखि नै प्रमाणहरु नष्ट गर्ने र अनुसन्धान नगर्ने एसपी विष्टदेखि सबै सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाएर सर्वस्वसहित जन्मकैद गर्नुपर्ने बताए।







