अमिक शेरचन हाल सत्ताधारी नेकपाका सल्लाहकार हुन् । उनी तत्कालीन नेकपा एकताकेन्द्र अाफ्नै माेर्चा संयुक्त जनमाेर्चाका अध्यक्ष समेत रहेका थिए । ०५१ तिर  पार्टी जनयुद्धमा तत्काल जाने कि नजाने भन्ने बहसमा उनले उपयुक्त समय मिलाएर जानेे भन्नेमा भिन्न दस्तावेज लेखेका थिए । तर प्रचण्ड र निर्मल लामा नारायणकाजीकाे दुर्इ गुटकाे लडाइँमा उनले मध्यमार्गी लाइन लिएका थिए ।  यसबारे उनीसँग अनलाइनखबरले गरेकाे कुराकानीकाे सानाे अंश :

जनयुद्ध थाल्ने कि नथाल्ने भन्ने विषयमा अन्तर पार्टी संघर्ष चल्यो । झण्डै-झण्डै पार्टी फुट्ने अवस्था आएपछि मैले एक वर्षसम्म थामथुम पारेर राखें ।

एउटा सामान्य घटनालाई लिएर जनयुद्ध गर्ने कि नगर्ने बहस चलेको थियो त्यो बेलामा । गीत गाउने विषयमा कांग्रेस र हाम्रो पार्टीका केटाहरूबीच मुठभेड भएछ । एकजनाको मृत्यु पनि भयो । घटनामा १५-१६ जना संलग्न थिए । उनीहरू विरुद्ध मुद्दा चलाउनु पर्नेमा रोल्पाका पुरै नेताविरुद्ध मुद्दा चलाइयो । २५ सय मान्छेलाई मुद्दा चलाइएको थियो ।

त्यसो भएपछि यिनीहरूले बन्दुक नै खोजेको हो भन्ने कुरा उठ्यो । मैले पार्टीले निर्णय नगरी जानु हुँदैेन भने । एकथरीले अहिले नै लडाइँ गर्नु हुँदैन भनेका थिए भने अर्को थरीको भनाइ सबैजना भूमिगत हुनुपर्छ भन्ने थियो ।

त्यतिबेला पुरै संसदीय भासमा बस्नु पनि ठीक थिएन र सिधै बन्दुक बोकेर उग्रवादी धारमा हिँड्नु पनि ठीक थिएन । जनयुद्ध गर्ने भए पार्टीले भित्री निर्णय गरेरै जाउँ भन्ने मेरो भनाइ थियो । युद्धको पक्षमा भएका साथीहरू भूमिगत हुने र खुल्ला हुन चाहने साथीहरू वैधानिक मोर्चाबाट लागिरहनु पर्छ भन्ने मत राखें ।

वैधानिक संघर्ष र जनयुद्धको अलग अलग मोर्चाको जिम्मा लिएर अगाडि बढ्नु आवश्यक थियो । त्यस विषयमा मैले दस्तावेज पनि तयार पारिसकेको थिएँ । तर, त्यसमा छलफल हुनुभन्दा एक हप्ता पहिला नै एकथरी साथीहरूले चितवनमा भेला गरेर पार्टी अलग भएको घोषणा गर्नुभयो ।

निर्मला लामा, नारायणकाजी श्रेष्ठलगायत तत्काल जानुहुँदैन भन्ने पक्षमा थिए । महराजीले त्यतिबेला मलाई नै साथ दिनु भएको थियो । पार्टीमा विवाद भए पनि संसदीय दलमा विभाजित थिएनौं ।

पछि संसद् नै विघटन भयो । खडगजी र बर्मनजी बीचमा बस्नुभयो । महराजी जनयुद्धमै लाग्नुभयो । म छ/सात महिना निस्क्रिय बसेँ । यो गलत भयो भन्ने मेरो भनाइ थियो । संसदीय अभ्यास उपयोग गर्ने र जनयुद्धमा जानेहरु अलग-अलग भए ।

म जेठको १२ गते चितवनमा सम्मेलन गरेर जनयुद्धमा जानुपर्छ र जानु हुँदैन भन्नेबीचको विषय टुङग्याउने पक्षमा थिएँ । यो ०५१ बैशाखको कुरा हो । प्रचण्डजीले साथीभाइहरु दायाँ-बायाँ छन् । १२ गते गर्दा आउन गाह्रो होला दाइ, २८ गते गरौं भन्नुभयो । म पनि २८ गतेलाई पुरा समय निकाल्छु भन्नुभयो । त्यति भनिसकेपछि मैले हुन्छ भने ।

२८ गते सम्मेलन गरौं दाइ भनेका प्रचण्डले १७ गते नै अर्को पार्टी घोषणा गर्नुभयो । मसँग ४५-४६ जना साथीहरु हुनुहुन्थ्यो । पार्टी फुट्न नदिन गरिएको हाम्रो अभियान सफल भएन । मैले तयार गरेको दस्तावेज पनि बैठकमा प्रस्तुत हुन पाएन । प्रचण्डले १४ गते फोन गरेर दाइ पनि आउनुपर्छ भन्नुभयो । त्यति भइसके पछि म जाने कुरै थिइन । म आउँदिनँ भनें ।

तर, पछि प्रचण्डजीलाई म यतै बसेको फाइदा भयो । जनयुद्ध शुरु भएपछि पनि उहाँहरूसँग मेरो तित्ततापूर्ण सम्बन्ध भएन । युद्धमा गएका धेरै साथीलाई जनमोर्चा नेपालको सदस्य हो भनेर जोगाइयो । वैधानिक मोर्चाले धेरैको ज्यान बचाउन सफल पनि भयो । प्रचण्डजीसँग बीचबीचमा कुराकानी हुन्थ्यो ।

महाकाली सन्धिको विरोधमा आन्दोलन गरिरहेका थियौं । चितवनमा प्रहरीसँगको मुठभेडमा परेर म घाइते थिएँ । लामो समय विरामी भएँ । त्यही भएर ०५१ को चुनावमा भाग लिइनँ । लडेको भए मैले जित्थें ।

०५६ सालमा पनि म राम्रो निको भइसकेको थिइनँ । काम्रो बाँधेरै हिँडेको थिएँ । चुनाव लड्ने पक्षमा थिइनँ । रामेछाप जिल्लाबाट पटक-पटक डेलिगेसन आएपछि म तयार भएको थिएँ । कमल चौलागाईले पार्टी छोडेर नगएको भए उहाँ उठ्नुहुन्थ्यो, कुरा सक्किहाल्थ्यो ।

कमल चौलागाईले धोका दिए भनेर जिल्लाका साथीहरूले धेरैपटक अनुरोध गरेपछि पनि मानेको थिइनँ । त्यहाँका पुराना साथीहरूले आग्रह गरेपछि भने नाइँ भन्न नसकेर गएको थिएँ । मतको हिसाबले मैले जितेको थिएँ । चार सय मतले जित्ने रहेछु । तर ११ सय मत बदर भयो । चुनाव चिह्न हँसिया, हथौडा, तारा थियो । भोट माग्दा हँसिया-हथौडा-तारामा दिनु भनियो ।

मतदाताले हँसियामा एक, हथौडामा एक र तारामा एक गरी तीन ठाउँमा मत हालेछन् । यस्तो तीनछापे मत ठ्याक्कै ११ सय थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार