सत्ताधारी नेकपाका नेता राम कार्कीेले अाफ्नाे पार्टीका नेताहरू राजाहरूकाे ढाचामा चलेकाे भन्दै पार्टीले देशकाे राजनीतिलार्इ सही ढंगले संचालन गर्न नसकेकाे बताएका छन् ।
अनलाइनखबरसँगकाे लामाे कुराकानीमा नेता कार्कीले पार्टी दुर्इ अध्यक्ष केपी शर्मा अाेली र प्रचण्डले सामान्य रूघाखाेकी लागेकै भरमा स्थायी समिति बैठक नै सार्न पुगेकाे भन्दै नेतृत्वकाे चर्काे अालाेचना गरेका छन् ।
कार्कीसँगकाे कुराकानीकाे सानाे अंश –

नेकपा बन्नुअघि दुबै पार्टीमा सैद्धान्तिक समस्या नै थिएन त ?
माओवादीको हकमा भन्ने हो भने युद्ध बढ्दै गएपछि राजनीतिक कुरालाई भन्दा फौजी कुरालाई महत्व दिन थाल्यौं । जब कि फौजी विषयलाई पनि जहिल्यै राजनीतिको अधिनमै राख्नुपर्थ्यो ।
पछि एमालेसँग भेट भयो । ०४६ सालपछिको उसको अवस्था के रहेछ भने एमाले बनेपछि केही पनि त्याग गर्नु नै नपर्ने । त्यो एउटा पेशा बनिसकेको रहेछ ।
०६३ पछि माओवादी पनि त्यही ठाउँमा पुग्यो । जनयुद्धमा भएको परिवर्तनशील कुरालाई संस्कृति बनाउन सकेनौं । प्रणाली माथिबाटै बिग्रियो । कतिपय निर्णयहरू पार्टी कमिटीबाट भएनन् । नेताको चाहना अनुसारका निर्णय भए । जब कि हरेक निर्णय कमिटीको निर्णयअनुसार हुनुपथ्र्यो । यो पनि त्यसैको निरन्तरता हो । चुनाव खर्च दिनुपर्याे भने नेताले श्रीमतीसँग मागेर दिनु त कुनै प्रणाली होइन नि ।
एमाले र माओवादी मिलेर नेकपा बनेपछि पनि केही त्याग गर्नै नपर्ने भयो । जस्तो– कम्युनिष्ट भएवापत किरिया गरिँदैन । त्यसो गर्दा नातागोता पुराना विचार भएका मान्छे त रिसाउँछ नि । उसले कम्युनिष्ट भएवापतको त्याग हो भनेर आलोचना सहन तयार हुन्छ ।
तर, हामीले यस्तो कम्युनिष्ट पार्टी बनाऔं मञ्चमा उभिएर चे ग्वेभारा, लेनिनको भाषण गर्न पनि पाइने र साँझमा श्राद्ध, काजकिरिया, घेवा, पितृ गर्न पनि पाइने । तपाईँलाई थाहा छ ? अहिले अधिकांश मन्दिरको प्रबन्ध समितिको अध्यक्ष कम्युनिष्टहरूको हातमा छ ।
पार्टीमा छलफल नहुनुको असर नेतृत्व तहमा मात्रै पर्छ कि कार्यकर्तासम्म आइपुग्छ ?
पुँजीपतिले शोषण गर्ने क्रममा आफ्नै मानवीयता पनि गुमाउँछ । जो शोषणमा परेको हुन्छ, त्यो पनि मानव बन्न पाउँदैन । यो भनेको प्रत्येक मानवलाई पूर्ण मानव बनाउने मार्क्सको सपना विरुद्धको कुरा हो ।
हाम्रो सन्दर्भमा भन्दा पार्टीमा छलफल नहुनुको नोक्सान गाउँ–गाउँका कार्यकर्तालाई मात्रै भएको छैन । टोलका कार्यकर्ता मात्रै विराग, नैराश्यको शिकार भएको छैन । नेता पनि त्यसको शिकार भएको छ । उसले जुन तागत पाउनुपर्ने हो, त्यो नै पाइरहेको छैन ।
अहिलेका नेतृत्वमा भएको अधिकार स्थायी हो र ? अर्को कुरा, नेपालको राजतन्त्रको इतिहासको सबैभन्दा तागतिलो भन्ने राजा महेन्द्रको आफ्नै सहोदर छोरालाई जनताले पाँच वर्ष पनि शान्तिले बस्न दिएनन् । अनि हामीले राजा बनेको स्वाङ पार्दा हामीलाई बस्न देलान् ?
हाम्रो ढाँचा त लगभग राजा बनेकै जस्तो छ । हाम्रो हिंडाइ, बोलाइ, भेट गराइ र दशैं मनाइसम्ममा पनि मान्छेले औंला उठाउन थाले ।
हिजो ढुंग्री, फुली दिएर जनयुद्ध गर भनेका जनता आज मन्दिर बनाउन २५ हजार देउ भनिरहेका छन् । यसको दायित्वबोध त हामीमा हुनुपर्याे नि ।







